काठमाडौँ । कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले आइतबारसाँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा रहिरहेकोमा खुसी व्यक्त गरेको छ ।

राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन जसले तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुबैतर्फबाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन् ।

साथै उनले ठुलो सपना देख्‍न संकोच नमान्‍न पनि सुझाव दिएकी छन् । सपना देखेपछि त्यसलाई पुरा गर्ने हिम्मत आउने उनको भनाइ छ । ‘जहाँ इच्छा त्यहाँ उपाय भन्‍ने भनाइ नै छ । उनी अगाडी लेख्छिन् मेरो सपनाले मलाई कुनै पनि समय पछ्यारह्यो । निदाउनु अगाडी र उठेपछि त्यसकै पछि लाग्‍ने बनायो । यो सपना पुरा गर्नु त्यति सजिलो थिएन र पनि पुरा भएको छ ।’ सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबी महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरिसकेकी छन् ।