ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा सौर्य उर्जाबाट सिचाई हुने भएको छ । मिनर्जीको सहयोगमा बागमतीको प्युटारका तीन सय रोपनी जग्गामा ५५ घरधुरीका लागि सिचाई हुने भएको हो ।

खैरेनी बेसी सौर्य सिचाई आयोजना संचालनमा आएपछि सुख्खा जमिनमा सिचाई हुने र सिचाईका कारण कृषि उत्पादन बढ्ने बागमती गाउँपालिका वडा अध्यक्ष रामकुमार लामाले बताए ।

बागमती नदिबाट ११२ मिटर माथि सौर्य बत्ति प्रयोग गरि लिफ्ट गरि सिचाई गरिने छ । सिचाईका लागि बागमती गाउँपालिकाले २० प्रतिशत र ८० प्रतिशत मिनर्जी संस्थाले व्यहोर्ने भएका छन । सौर्य उर्जाबाट संचालन हुने सिचाई ७ महिनाभित्र सम्पन्न गर्ने योजना रहेको छ ।

सिचाईका लागि फिल्डको सर्भे समेत भई सकेको र अब छिटै काम सम्पन्न हुने बागमती गाउँपालिकाका अध्यक्ष वीर बहादुर लोप्चनले जानकारी दिए । सिचाई आयोजना संचालन भएपछि किसानको समस्या समाधान हुने उनले बताए । उनले प्युटारमा तरकारी संकलन केन्द्र र हाट बजारको व्यवस्थापन गरिसकेको बताउँदै यहाँ उत्पादन गरिएको तरकारी काठमाडौं लैजाने बताए ।