हेटौंडा । हेटौंडामा पर्यटकको आकर्षण बढाउन राति १२ बजेसम्म होटल सञ्चालन गर्न पाउनुपर्ने होटल व्यवसायीहरूले माग राखेका छन् । पोखरा, काठमाडौं लगायतका शहरमा राति अबेरसम्म होटल, रेष्टुँरा सञ्चालन गर्न दिएकै कारण पर्यटकहरू आकर्षित भएको बताउँदै हेटौंडाका होटल सञ्चालकहरूले १२ बजेसम्म सञ्चालन गर्न दिनुपर्नेमा जोड दिएका हुन् ।

बुधवार साँझ हेटौंडाकी नगर प्रमुख मिनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे, हेटौंडाका उपप्रमुख राजेश बानियाँ र मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमलाई एउटै मञ्चमा राखेर होटल व्यवसायीहरूले पर्यटकहरू भित्र्याउन १२ बजेसम्म होटल खोल्न दिनुपर्ने माग गरेका हुन् ।

हाल हेटौंडाका होटल, रेष्टुँराहरूमा राति ९ बजेपछि प्रहरीले सिट्टी फुक्ने गरेको छ । जसका कारण पर्यटक तान्ने दोहोरी साँझ, क्लब, डान्सबारहरू हेटौंडामा सञ्चालनमा छैनन् । यसअघि खुलेका दुई दोहोरी साँझहरू पनि धराशायी अवस्थामा छन् । प्रहरीले ९ बजेपछि बन्द गर्न ताकेता गर्ने भएपछि सञ्चालन गर्न नसकिएको दोहोरी साँझका सञ्चालकहरूको गुनासो छ ।

हेटौंडा सीमाबाट नजिक भएकाले भारतीय पर्यटकहरू भित्र्याएर व्यापार गर्न सक्ने सम्भावना बोकेको क्षेत्र भएकाले होटल सञ्चालनमा समय थप गर्नुपर्ने होटल एसोसिएसन मकवानपुरका संस्थापक अध्यक्ष भागिरथ शर्मा बताउँछन् । नेपाल पर्यटक बोर्डले पनि केही दिनअघि मेयर लामासहित होटल व्यवसायीहरूलाई राखेर हेटौंडालाई पर्यटकीय शहरका रूपमा विकास गर्न रात्रिकालीन सेवा प्रदान गर्नु अपरिहार्य रहेको सुझाव दिएको थियो ।

बोर्डको सुझावअनुसार होटल व्यवसायीहरू १२ बजेसम्म सेवा सञ्चालन गर्न पाउनु पर्ने माग राख्दै सम्बन्धित निकायको ढोका ढक्ढक्याउन थालेका हुन् । जसअनुसार मेयर, सीडीओ, उपमेयर, एसपीलाई एउटै मञ्चमा राखेर एसोसिएसनले होटल तथा पर्यटन व्यवसाय विकासका लागि अन्तर्क्रिरया कार्यक्रम गर्दै प्रहरीले दुःख दिएको गुनासो पोख्न भ्याए ।

‘राति चाँडै होटल बन्द गर्नुपर्दा पर्यटकहरू आउन छोडे । आएका पर्यटकहरू पनि बेलुकासम्म बस्न नपाउने भएपछि हेटौंडा फर्किएर आउनै छोडेका छन् । पर्यटकहरूलाई आकर्षण गर्न पनि १२ बजेसम्म अनुमति दिनुप¥यो,’ शर्माले भने । उनले होटल व्यवसायीहरूको सहकार्यमा हरेक हप्ता नगर आसपासका करिब १०–१५ वटा पर्यटकीय क्षेत्रमा पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर पर्यटकहरूमा आकर्षित गर्न सकिनेतर्फ जोड दिए । यसो गर्दा पर्यटकीय क्षेत्रको उत्थान हुनेमा शर्माको विश्वास छ ।

एसोसिएसनका निवर्तमान अध्यक्ष शंकरलाल श्रेष्ठले नगरभित्रका पर्यटकीय क्षेत्रको भिडियो डकुमेन्ट्री बनाएर प्रचारप्रसारमा ध्यान दिन माग गरेका छन् । होटल व्यवसायीहरूको माग र गुनासो सुनेपछि प्रमुख लामाले हेटौंडालाई बजार हैन, शहर बनाउन लागिपरेको बताएकी छन् ।

‘प्रदेश राजधानी भएपछि हेटौंडालाई बजारमा मात्रै सीमित नबनाई शहर बनाउन काम गरिरहेका हौँ । पहिला हामीले हेटौंडालाई बजार भन्थ्यौँ । अब बजार हैन, शहरका रूपमा विकास गर्नुपर्छ,’ लामाले भनिन् । उनले होटल व्यवसायीहरूले व्यवहार परिवर्तन गर्नुपर्ने सुझाव दिएकी छन् । विगतमा भन्दा हाल हेटौंडामा धेरै पाहुनाहरू आउने गरेकाले होटल व्यवसायीहरूले राजधानीकै हैसियत अनुसारको सेवा प्रदान गर्नुपर्नेमा उनको जोड थियो । उनले सेवा प्रदानमा होटलहरूले परिवर्तन नगरेको बताइन् । पर्यटकहरूलाई हेटौंडामै बास बसाउन होटलहरूको सेवासुविधामा निर्भर हुने लामाको भनाइ छ ।

मकवानपुरका सीडीओ पाण्डेले पर्यटकलाई आकर्षित गर्न रात्रिकालीन सेवाका लागि होटल व्यवसायीहरूलाई आवश्यकता अनुसार अनुमति दिन सकिने बताएका छन् । होटलहरूले उपयुक्त योजना बनाएर प्रस्तुत भएमा राति १२ बजेसम्म र आवश्यक परेमा रातभर नै सञ्चालनको अनुमति दिन समस्या नभएको उनको भनाइ थियो । उनले समाजमा असर पर्ने गतिविधि हुनुनहुनेतर्फ व्यवसायीहरूलाई सचेत गराए । मुलुकको विकासमा होटल व्यवसायको महत्वपूर्ण भूमिका रहेको बताउँदै पाण्डेले होटल व्यवसायले राज्यलाई कर तिर्दै सहयोग गर्नेदेखि रोजगारीको सिर्जना र कृषि क्षेत्रको विकासमासमेत टेवा पु¥याएको सुनाए ।

नगर उपप्रमुख बानियाँले संघीय सरकारले पर्यटन वर्ष मनाए जस्तै हेटौंडामा पनि स्थानीय पर्यटन वर्ष मनाउनु पर्ने धारणा राखेका छन् । होटल व्यवसायीहरूको साथमा स्थानीय सरकार रहेको भन्दै बानियाँले हेटौंडामा पर्यटकलाई आकर्षित गर्न उपमहानगरले पर्यटन समिति बनाएर काम सुरुवात गरेको जानकारी दिए । मकवानपुरका प्रहरी प्रमुख गौतमले होटलमा आउने पाहुनाहरूलाई परिचय खुल्ने गरी राख्न र सुरक्षाका लागि सीसीटीभी जडान गर्न आग्रह गरे । प्रहरी र होटल व्यवसायीबीच द्वन्द्व देखिए पनि वास्तवमै द्वन्द्व भने नभएको उनको भनाइ थियो ।

साभारः शिलापत्र