हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बसामाडीमा पाँच जना युवाहरु मिलेर ब्यवसायिक रुपमा बाख्रा फार्म सञ्चालन गरेका छन् ।
शिमल्थली एग्रो प्रालि कम्पनि दर्ता गरेर हेटौंडाको मुख्य बजार क्षेत्र नजिक बाख्रा फार्म सञ्चालन गरिएको हो । फार्ममा हालसम्म नौ करोड रुपैयाँ लगानी भईसकेको छ ।
फार्मका पाँचजना सञ्चालक मध्य दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडानम्बर–१ घर भई हाल बसामाडी सिमल्थली बस्दै आएका ३४ वर्षिय राजु अधिकारी पनि एक हुन् । उनी मलेशिया र कतारमा कठिन श्रम गरेर नौ वर्ष बिताएर फर्केका युवा हुन् । बिदेशबाट फर्कीएपछि नेपाली भूमिमै केही गर्नुपर्छ भन्ने भावनाले साथीहरुसंग मिलेर बाख्रा फार्म सञ्चालन गरेको उनले बताए ।
विदेशीभूमीमा हण्डर ठक्कर खाँदै नौ वर्ष बिताउँदा कमाएको रकम अधिकारीले यस फार्ममा लगानी गरेका छन् । उनी संचालक र आफैं कामदार पनि हुन् । काम गर्दैमा सानो भइन्छ भन्ने सोच नराखी बिहान देखि बेलुका सम्म बाख्रा फार्ममा काम गर्दै आएको उनले बताए ।
सुरुमा शिमलथली उन्नत बाख्रा फार्मबाट दुइजनाको लगानीमा सुरु गरेको यो फार्म अहिले शिमल्थली एग्रो प्रालि बनाइएको छ । २०७० सालमा सुरु गरेको यो फार्ममा अहिले भने पाँच जनाको लगानी रहेको छ । मकवानपुरकै उत्कृष्ट र ठुलो लगानी भएको फार्म मध्य यो एक हो ।
हेटौंडाका गोविन्द सुवेदी र सिताराम अधिकारीले सुरु गरेको बाख्रा फार्ममा सञ्चालकसंगै संरचना र घाँस खेती गरिएको जग्गाको क्षेत्रफल पनि थपिएको छ ।
कम्पनिको नाममा रहेको ४५ कठ्ठा जग्गामा आधुनिक शैलीको खोर सहित विभिन्न संरचना निर्माण गरिएको छ । साढे ५ बिगाहा क्षेत्रफल जग्गा भाडामा लिएर घाँस खेती गरिएको छ । काठमाण्डौं दक्षिणकाली–८ घर भएका पबन आचार्य बाख्रा पालनका क्षेत्रमा नमुना ढंगले काम गर्नका लागि लगानी गरेरै हेटौंडामा बसेका छन् ।
१५ कठ्ठा क्षेत्रफलमा फैलिएको यस बाख्रा फार्ममा बिदेशबाट फर्किएका युवाहरुले लगानी गरेका छन् । काम गर्नका लागि पनि बिदेशमा बसेर फर्किएका युवाहरुलाई प्राथमिकता दिइएको छ । बिदेशबाट फर्किए पछि स्वदेशमानै रोजगारी पाएकोमा युवाहरु निकै खुसी समेत भएका छन् ।
बाख्रा फार्मका बिभिन्न खोरमा साना देखि ठुला सम्मका ४ सय ५० वटा बाख्रा रहेका छन् । कुल नौ करोड रुपैयाँ लगानीमा साढे चार करोड रुपैयाँ एभ्रेष्ट बैकबाट ऋण लिइएको छ । यहाँको खोरमा बोयर जातका २१ वटा ठुला बिउ बोका छन् । २ सय वटा माउ बाख्रा छन् । अरु बयस्क पाठापाठीहरु रहेका छन् । यसलाई अझै व्यवस्थित बनाउन लागिएको लगानीकर्ता सिताराम अधिकारीले बताए ।
रहर लाग्नेगरी बोयरजातका बाख्रा पालन गरेको हेर्नका लागि बिभिन्न जिल्लाबाट यस फार्ममा आउने गरेका छन् । फार्मसंगै खेतका गरामा देखिने घाँस खेती पनि निकै रहर लाग्दो छ । बाख्रालाई आवस्यक सबै घाँस यहाँबाटनै काट्ने गरिएको छ । यस फार्मबाट १८ जना युवाहरुले रोजगारी समेत पाएका छन् । यसै बाख्रा फार्मबाट देशभरका स्थानीय सरकार, बिभिन्न सरकारी, गैरसरकारी संघसंस्थाहरुले बाख्रा, बोयर जातका बोका खरिद गरेर लैजाने गरेका छन् ।
यो फार्मले ६६ वटा जिल्लामा बिउका रुपमा बोयर जातका बोका पुयाइएको छ । बाख्रा पालनमा नमुना फार्म भएकै कारणले बागमती प्रदेश सरकारले यस फार्मका सञ्चालकलाई उत्कृष्ट किसानका रुपमा पुरस्कृत समेत गरेको छ । फार्मबाट मकवानपुरका २१ वटा समुहका लागि १५ वटा विउ बोकाबितरण भएको छ । बाख्रामा नष्ल सुधारका लागि उत्पादित पाठापाठीको बजारीकरण समेत गरिएको छ ।
बाख्रा खरिद गर्नका लागि पनि नसक्ने र बिदेशबाट फर्किएर नेपालमै केही गरौ भन्ने युवाहरुका लागि एक सय ५० वटा बाख्रा उपलब्ध गराइएको छ । हाल सम्म बाख्रा पाल्नका लागि ४ सय घरका १२ सय जनालाई तालिम समेत दिइएको छ ।
कृषि प्रेसबाट


















प्रतिक्रिया दिनुहोस्