हेटौंडा । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा मकवानपुरले आयोजना गरेको ‘मिडिया कप फुटसल’ प्रतियोगिताको उपाधि सक्रिय पत्रकारहरुको समूह एन्ड्रसले जितेको छ ।

शनिबार भएको फाइनलमा रेडियो मकवानपुर/प्रदेश दैनिकलाई २–१ गोल अन्तरले पराजित गर्दै एन्ड्रसले उपाधि जितेको हो । एन्ड्रसको जितमा सरोज पौडेल र रविन्द्र वाइवाले एक–एक गोल गरेका थिए ।

एन्ड्रसले नवयुग मिडिया प्रालिलाई र रेडियो मकवानपुरले आयोजक खेलकुद पत्रकार मञ्चलाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी उपविजेता टोली रेडियो मकवानपुरका पोष्टराज अधिकारी घोषित भएका थिए ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष राजन दाहाल रसिकको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवं हेटौंडा एकका वडाध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारु मगर, मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाइँ, प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, प्रेस युनियन मकवानपुरका निवर्तमान अध्यक्ष पोष्टराज अधिकारी कुमार, प्रेस सेन्टर मकवानपुर अध्यक्ष अन्जली थापा, अनलाइन एसोसिएसन (ओमान)का अध्यक्ष धर्मेन्द्र दाहाल, मञ्चका उपाध्यक्ष सुवास विडारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।