हेटौंडा । छैठौं संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८० यही माघ १६ गतेबाट हुने भएको छ ।

आयोजक मकवानपुर जिल्ला फुटबल संघले शुक्रवार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै छैठौंं संस्करणको मकवानपुर गोल्डकप माघ १६ देखि २७ गतेसम्म गर्ने जानकारी दिएको हो ।

प्रतियोगिताको सामाजिक विकास मन्त्रालय बागमती प्रदेश एवं १० स्थानीयतहले प्रायोजन गर्ने भएका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित गौरीटार रंगशालामा हुने प्रतियोगितामा १२ टिमको सहभागिता हुने फुटबल संघका जिल्ला अध्यक्ष टिका लामाले जानकारी दिए । यसवर्ष प्रतियोगितामा आयोजकसहित आठवटा ए डिभिजन, एउटा विदेशी, दुईवटा मोफासलका क्लबहरु सहभागी हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संघ अध्यक्ष लामाका अनुसार प्रतियोगितामा ए डिभिजनका चर्च व्वाइज, संकटा, हिमालयन शेर्पा, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, मच्छिन्द्र, मनाङ मर्स्याङदी र थ्रीस्टार क्लब सहभागी हुनेछन् । प्रतियोगितामा भुटानको पारो एफसी, सर्लाहीको बागमती युथ क्लब र धनकुटाको राजारानी क्लब सहभागी हुनेछन् । आयोजक रिगल हेटौँडा रिसोर्टको नाममा सहभागी हुने भएको छ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीलाई यसवर्ष पनि करिब ५ लाख रुपैयाँ बराबरको बुलेट मोटरसाइकल प्रदान गरिने भएको छ । मोटरसाइकलको प्रायोजन पर्शुराम स्मृति प्रतिष्ठानले गरेको लामाले बताए ।

प्रतियोगितामा विधागतरुपमा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ दी म्याचलाई दशहजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको यस संस्करणको आयोजनाका जिम्मेवारी हेटाँैडा–१५ को न्यू डाँफे युथ क्लबलाई प्रदान गरिएको छ । डाँफेले प्रतियोगिताका लागि मैदानको स्तरोन्नति, टिकट तथा अन्य आन्तरिक व्यवस्थापन गर्नेछन् । डाँफे क्लबका अध्यक्ष आलोक स्याङ्तानका अनुसार प्रतियोगिताका लागि मैदानको स्तरोन्नति गर्ने कार्य तीब्ररुपमा अगाडि बढिरहेको छ ।

प्रतियोगिताको लागि १ करोड ६० लाख ५० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालयले ५० लाख, हेटौँडा उपमहानगरपालिकाले २५ लाख, थाहा नगरपालिकाले १० लाख रुपैया उपलब्ध गराउने भएको छ । त्यस्तै स्थानीयतह भीमफेदी गाउँपालिका, कैलाश गाउँपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाले जनही ५ लाखका दरले रकम उपलब्ध गराउने भएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगिता सञ्चालनको लागि सह प्रायोजनबाट ७ लाख, राष्ट्रिय खेलकुद परिषद्बाट १० लाख र विविधबाट १ लाख रुपैया संकलन गरिने आयोजकले जनाएको छ ।

पाँचौ संस्करणमा ८ वटा ए डिभिजन क्लव, स्थानीय र अन्तराष्ट्रिय सहित १२ क्लवले सहभागिता जनाएका थिए । पाँचौ संस्करणको फाइनलमा हिमालयन शेर्पा क्लबलाई हराउँदै मनाङ मस्र्याङ्दी क्लबले उपाधि जितेको थियो ।