बागमती गोल्डकप–२०८० बारे पत्रकार सम्मेलन मार्फत जानकारी दिर्दै । तस्विर अनिल पराजुली

हेटौंडा । छैठौं संस्करणको बागमती गोल्डकप–२०८० आगामी फागुन १ गतेदेखि हुने भएको छ ।

मकवानपुरको बागमती–८ स्थित जनता माविको खेलमैदानमा फागुन १० गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक बागमती खेलकुद विकास समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । गोल्डकपमा ६ वटा ए डिभिजन क्लब, ३ मोफसल र एक विदेशी टोलीको सहभागिता रहने बागमती गाउँपालिका खेलकुद विकास समिति अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न करिब ६९ लाख ६० हजार खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामा बागमती गाउँपालिकाबाट ३० लाख र अन्य खर्च प्रदेश खेलकुद परिषदबाट १५ लाख, राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख, प्रायोजक, विभिन्न व्यक्ति तथा संस्थाहरूबाट प्राप्त हुने आयोजकले अनुमान गरेको छ ।

बागमती गोल्डकपको पहिलो संस्करणको उपाधि हरिहरपुरगढी सिन्धुलीले हात पारेको थियो । दोस्रो संस्करणको उपाधि सरस्वती युवा क्लब काठमाडौँले जितेको थियो भने तेस्रो गोल्डकपको उपाधि जावलाखेल युवा क्लब ललितपुरले हात पारेको थियो । प्रतियोगिताको चौथो संस्करण उपाधि थ्री स्टार क्लबले हात पार्दा पाचौं संस्करणको उपाधीको विजेता भुट्निज युथ स्पोर्ट्स क्लव भएको थियो ।

पत्रकार सम्मेलनमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, बागमती गाउँपालिका–३, का वडा अध्यक्ष कमानसिं पाख्रिन, ४ नम्बर वडा अध्यक्ष दन्तलाल माझी, प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलान, मकवानपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष अरुण बललगायतको सहभागिता रहेको थियो ।