हेटौंडा । विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा आज मङ्गलबारबाट हुने दोस्रो संस्करणको स्वर्गीय निरज श्रेष्ठ स्मृति विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा हेटौँडा–२ स्थित बालजागृति बोर्डिङ र हेटौँडा–५, पिप्लेस्थित जेनिथ इन्टनेशनल बोर्डिङबीच प्रतिस्पर्धा हुनेछ । मंगलबारकै दोस्रो खेलमा मकवानपुरगढी गाउँपालिका–३ स्थित भानु माध्यमिक विद्यालय बीच प्रतिस्पर्धा हुने जिल्ला क्रिकेट संघका सचिव विनोद बानियाँले जानकारी दिए ।

क्रिकेट एसोसिएसन नेपालको आयोजनामा आगामी चैत महिनामा हुन लागेको क्रिकेट प्रतियोगिताका लागि यु–१६ टिम छनोट गर्नका लागि प्रतियोगिता आयोजना गर्न लागेको जिल्ला क्रिकेट संघका अध्यक्ष करण महत्रा क्षेत्रीले बताउनुभयो । लिग कम नआउटको आधारमा प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा १३ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता आयोजनाका लागि करिब ६ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँ सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका वेष्ट बलर र वेष्ट व्याट्सम्यानले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पहिलो संस्करणको प्रतियोगिताको उपाधि हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयले जितेको थियो भने उपविजेता हेटौंडा–१० स्थित सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी बनेको थियो ।