हेटौंडा । निर्देशक मिलन चाम्सले नेपाली चलचित्र गोर्खा वारियर गार्खाली सेनामा आवद्ध रहेका पुर्खाहरुको मौलिक चलचित्र रहेको बताएका छन् । चलचित्र प्रचारप्रसारको क्रममा हेटौंडा आइपुगेका निर्देशक चाम्सले चलचित्र गोर्खा वारियर  ७० वर्ष अघिको नेपाली मौलिक सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खालीहरुको कथावस्तुमा आधारित रहेको बताएका हुन् ।

पत्रकारसँगको कुराकानीमा उनले गोर्खाली नेपालीहरुको इतिहासलाई चलचित्रमा समेटिएको बताए । हामी गोर्खालीलाई बहादुरीको उपनामले चिनिन्छ तर गोर्खालीहरुको विषयमा विभिन्न भारतीय चलचित्रहरुले एउटा पालेको दर्जामा राखेर चलचित्र बनाइरहेको अवस्थामा खासमा गोर्खाली के हो ? र कस्ता हुन्छन् भन्ने कुरा गोर्खा वारियरमा समेटिएका छौं, उनले भने ।

हामीले चलचित्र सोलुखुम्बुका पहाडी क्षेत्रमा, सगरमाथा, सिन्धुलीको जङ्गल र दरवार क्षेत्रका साथै मलेसियामा चलचित्र छाँयाकन गरिएका छौं, निर्देशक चाम्सले भने । एक नेपालीले हेर्नुपर्ने चलचित्र हो गोर्खा वारियर । हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी चलचित्र निर्माण गरिएको चाम्सले बताए । चाम्सले यस अघि हँसिया, वीर विक्रम, वीर विक्रम २, लिलीबिली, ह्याप्पी डेज् , ब्लाइण्ड रक्स, बोबी लगायत चलचित्र निर्देशन गरिसकेका छन् । उनले सयौं संख्यामा म्युजिक भिडियो निर्देशन समेत गरेका छन् ।

चलचित्रका नायक क्याप्टेन रितेश चाम्सले यस चलचित्रका लागि ३ वर्ष वर्कसप गरेको बताए । आफ्नो ड्रिम प्रोजेक्ट समेत रहेको बताउँदै गार्खाली भएर आफ्नो अभिनय प्रतिभा निर्वाह गरेको बताए । उनले चलचित्रलाई एक पटक हेरिदिन समेत आग्रह गरेका छन् । सच्चा नेपालीले आफ्नो पुर्खा अंग्रेससँग लड्नुका साथै विट्रिस आर्मी वा अन्य देशका सैनिकका भर्ति भएर गोर्खालीको पहिचान बनाउन सफल भएकोले पनि नेपाललाई चिनाउने गोर्खालीहरुको कथा चलचित्रमा रहेको बताए ।

यसैगरी नायिका रेविका गुरुङले चलचित्र उत्कृष्ट बनेको बताईन् । अभिनय गर्दैगर्दा पुर्खाहरुको झझल्कोका साथै उहाँहरुले गर्नुभएको दुख र संघर्षलाई नजिकबाट नियाल्न पाएको बताईन् । आफ्नो भूमिकाले चलचित्रमा न्याय गरेको उनी बताउँछिन् । चलचित्र फागुन ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रमा रेविका गुरुङ, रितेश चाम्ससँगै विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवनसिं राई, त्रिछु राई, दिग्गज खत्री लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई प्रशान्त थापा, राजेन्द्र घिमिरे, सुरेश राई, ज्योतिराज राई, सुमी राई, निर्मला राई परिवेश, नितम राईले संयुक्त रुपमा निर्माण गरेका छन् । निर्माताको रुपमा सुमन राई र सुस्मिता वाईवा रहेकी छिन् ।  चलचित्रमा एलिश कार्की र सुरेश राईको संगीत रहेको छ भने रवीन्द्र न्यौपाने र बाबु श्रेष्ठले खिचेका हुन् । चलचित्रको पटकथा, संवाद तथा लेखन निर्देशक चाम्स र गीरिराज घिमिरेको रहेको छ ।

कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष कपील खड्काको अध्यक्षतामा भएको थियो ।