हेटौंडा । छैठौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १ गतेदेखि फापरबारीस्थित जनता माविको खेलमैदानमा बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको हो ।

प्रतियोगितामा सातवटा ‘ए’ डिभिजन क्लब र तीनवटा मोफसलका क्लबको सहभागिता रहने आयोजक बागमती खेलकुद विकास समितिका अध्यक्ष टीकालाल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबहरू जावलाखेल युथ क्लब, मच्छिन्द्र फुटबल क्लब, न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा, चर्च ब्वाइज युनाइटेड, विभागीय टोलीहरू त्रिभुवन आर्मी र सशस्त्रको एपिएफ क्लबको सहभागिता रहनेछ ।

यस्तै, बागमती युथ क्लब सर्लाही, नवजनजागृति क्लब बारा सिमरा र आयोजक बागमती खेलकुद विकास समिति गरी तीन मोफसलका टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा जावलाखेल युथ क्लब, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब, नवजनजागृति क्लब, एनआरटी फुटबल क्लब समूह ‘क’मा तथा त्रिभुवन आर्मी क्लब, हिमालयन शेर्पा क्लब, आयोजक बागमती खेलकुद विकास समिति, एपिएफ फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड क्लब समूह ‘ख’मा छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा बागमती युवा क्लब, सर्लाही र मच्छिन्द्र फुटबल क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाखसहित ट्रफी र उपविजेताले नगद पाँच लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी, प्रशिक्षक र हरेक खेलको म्यान अफ दी म्याचलाई समेत नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसअघि गत वर्ष भएको पाँचौँ संस्करणमा विजेता टोलीले आठ लाख नगद पुरस्कार प्राप्त गरेको थियो । यस वर्ष पुरस्कार राशि वृद्धि गर्दौ १० लाख पु¥याएको अध्यक्ष श्रेष्ठले बताए । गत संस्करणमा ‘ए’ डिभिजन क्लब संकटालाई हराउँदै विदेशी टोली एफसी भुटनिज स्पोर्टस् क्लबले उपाधि जितेको थियो ।