हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा आज मंगलबारदेखि छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगितामा सुरु हुँदैछ । प्रतियोगिताको मंगलबार दिउँसो १ बजे बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले उद्घाटन गर्ने पालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए ।

बागमती–८ स्थित जनता माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा मछिन्द्र फुटब क्लब र सर्लाहीको बागमती युथ क्लबबिच प्रतिस्पर्धा हुनेछ । दुई टिमबिचको विजेताले क्वाटरफाइनलमा फाल्गुन ५ गते जावलाखेल युथ क्लबबिच प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आयोजक बागमती खेलकुद विकास समितीसहित तीन मोफसल र ७ वटा ए डिभिजन क्लबको सहभागी छ । प्रतियोगितामा विभागीय टोलिहरु सशस्त्र प्रहरी बलको नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, ए डिभिजन क्लबहरु न्युरोड टिम(एनअरटी), हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेड सहभागी छन् । यस्तै मोफसल टोलिहरु आयोजक बागमती खेलकुद विकास समिति, बाराको नवजनजागृती युवा क्लब सिमरा र सर्लाहीको बागमती युथ क्लब सहभागी छन् ।

प्रतियोगितामा गत संस्करणको विजेता र उपविजेता टिम भने सहभागी नहुने भएको छ । पाँचौं संस्करणको विजेता विदेशी टोलि एफसी भुटनिज र ए डिभिजन क्लब संकटा प्रतियोगितामा सहभागी नहुने भएको हो ।

नकआउट चरणमा हुने प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । यस संस्करणको विजेताले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।