हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–१ गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

एपीएफको जीतमा अनिष महर्जनले दुई तथा फोडे फोफनाले एक गोल गरे । खेलको दोस्रो हाफको १६ आंै मिनेटमा फोफनाले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै महर्जनले खेलको दोस्रो हाफको १६ औं मिनेटमा फोफनाको पासलाई सदुपयोग गर्दै हेडमार्फत गोल गरे भने २४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको दोस्रो हाफको ८८ आंै मिनेटमा चर्च ब्वाइजका लागि विशाल बस्नेतले एक गोल गरे पनि टिमलाई हारबाट जोगाउन भने सकेन ।

खेलको म्यान अफ द म्याच महर्जन घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गत हप्ता सम्पन्न छैठौं संस्करणको मकवानपुर गोल्डकपमा एपीएफबाट खेलेका महर्जन सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै बुलेट बाइक प्राप्त गरेका थिए । उनले मकवानपुर गोल्डकपमा दुई गोल गर्दै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । यसअघि बिहिबार भएको पहिलो क्वाटरफाइनल खेलमा नवजनजागृती युवा क्लबलाई हराउँदै न्युरोड टिम एनआरटी सेमिफाइनल प्रवेश गरेको थियो । सेमिफाइनल प्रवेश गरेको एपीएफले अब फाइनल प्रवेशका लागि आयोजक बागमती खेलकुद विकास समिती र विभागीय टोली त्रिभुवन आर्मीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत शनिबारको क्वाटरफाइनल खेलमा जावला खेल युथ क्बल र मछिन्द्र युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जावलाखेल गोल्डकपको दोस्रो संस्करणको उपविजेता र तेस्रो संस्करणको विजेतासमेत हो । प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।