हेटौंडा । मकवानपुरमा रंगशालाको अभाव हट्ने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडामा निर्माण भएको रंगशाला संचालनमा आएपछि रंगशालाको अभाव हट्ने भएको हो ।

पिप्ले युवा क्लवको अगुवाई एवं हेटौंडा–५ नम्बर वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा एक बर्ष १६ दिन लगाएर रंगशाला तयार गरिएको छ । रंगशाला निर्माणका लागि संघसंस्था तथा व्यक्तिहरुले पनि आवश्यक सहयोग गरेका थिए । करिब पौने २ करोडमा रंगशाला निर्माण गरिएको पिप्ले युवा क्लवका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका र ५ नम्बर वडा कार्यालयबाट करिव १ करोड ३९ लाख लगानी उनले बताए । संस्था एवं व्यक्तिहरुबाट करिब ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

रंगशालामा करिब ५ हजार दर्शक अट्ने प्याराफिट निर्माण गरिएको छ । फलामको र कंक्रिटको प्याराफिट निर्माण गरिएको हो । रंगशालामा फुटबल, एथ्लेटिक्स सहित इन्डोर खेलहरु बक्सिङ, कराते, तेक्वान्दोलगायतका खेल खेल्न मिल्नेछ । रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डको ८ लेनसहितको १० मिटर चौडाईको एथ्लेटिक्स ट्रयाक निर्माण भएको छ । अब रंगशाला परिसरमै कभर्ड हल बनाउने योजना रहेको छ ।

रंगशाला निर्माण पश्चात आगामी दिनमा फुटबलसहित विभिन्न खेलकुदका गतिविधि आयोजना गर्न सहज हुनेछ । शनिवारबाट यही रंगशालामा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिता समेत आयोजना हुँदैछ ।