हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरूङको लाइभ कन्र्सट हुने भएको छ ।

हेटौंडा–९ लामसुरेधाप स्थित मानवसेवा आश्रमले आफ्नो आश्रमको विभिन्न जिल्लामा निर्माणधिन शाखा भवनको लागि अक्षय कोष स्थापनाको लागि देशको प्रमुख शहरहरुमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरूङलाई लिएर ‘मानवताको लागि सङ्गीत’ कार्यक्रमहरु गर्ने कार्यक्रम अन्तर्गत हेटौंडामा पनि कन्र्सट गर्न लागेको हो ।

आज आश्रममा पत्रकार सम्मेलन गर्दै आश्रमका अध्यक्ष रामजी अधिकारीले हेटौंडाको भुटनदेवी चौरमा मंसिर २२ गते नेपथ्य लाइभ कन्र्सट हुन लागेको जानकारी दिए ।

उनका अनुसार मंसिर १६ गतेबाट पुष १६ गतेसम्म एक महिना देशको १० प्रमुख शहरहरुमा ‘मानवताको लागि सङ्गीत’ कार्यक्रमको तयारी सुरु भएको छ । जसमा मंसिर १६ गते शुक्रबार बिराटनगरमा,१९ गते विरगंजमा,२२ गते हेटौंडामा,२५ गते नारायणगढमा र मंसिर २९ गते नेपालगंजमा कार्यक्रम तय गरिएको छ । यसैगरि,पुष ३ गते धनगढीमा,६ गते सुर्खेत,९ गते बुटबल,१२ गते पोखरा र पुष १६ गते कांठमाण्डौमा ‘मानवताको लागि सङ्गीत’ कार्यक्रम तय भएको अधिकारीको भनाई छ ।