हेटौंडा । नेपाली चलचित्र ऐना झ्यालको पुतली हेटौंडामा प्रिमियर गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको प्रिमियर गरिएको हो । हेटौंडा निवासी सुजित विडारीको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको एनएस सिनेमा हलमा प्रिमियर शो गरिएको हो ।

हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यतामा कार्यक्रम गर्दै चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र हेरिसकेपछि मेयर लामाले चलचित्रले बोकेको कथा परिवेशले सन्देश दिन सक्ने बताइन् । आर्थिक कमजोर भएको परिवारको छोरीले पढ्न नपाउने अवस्थालाई चलचित्रले उठान गरेको, सरल र सभ्य भाषाशैली, प्रस्तुती र दुइ दशक भन्दा अगाडीको नेपालको जलन्त परिवेशलाई उजागर गर्दै चलचित्रमा समेटिएकाले सबैलाई चलचित्र हेर्न आग्रह गरेकी थिइन् ।

कार्यक्रममा चलचित्रकी कलाकार नायिका सिरु विष्टले आफुले काम गरेको मध्ये उत्कृष्ट कथावस्तु र परिवेश चलचित्रमा रहेको बताइन् । सबैजनाले मेहनत गरेका छौं चलचित्र हेरेर साथ र हौसला बढाइदिनु हुन आग्रह गरेकी छिन् ।

आफ्नो बालापनको कथावस्तुलाई चलचित्रमा उठान गरिएको निर्देशक विडारीले बताए । पहिलो पटक चलचित्र निर्माणले सबैको माया र साथ पाएको छु अब दर्शकले चलचित्र हेरेर साथ दिने छन भन्नेमा आफु विस्वस्त रहेको बताए ।

विडारीको निर्देशनमा बनेको चलचित्रमा सिरु विष्ट, कन्चन चिमोरिया, दिनेश खत्री, अशोक शिवाकोटी, क्षितिज लिम्बु, उमेश श्रेष्ठ, विशा चाम्लिङ राई, मल्लिका श्रेष्ठ, राज थापा, पदम प्रसाद पौडेल लगायतको कलाकारहरुको अभिनय रहेको छ । चलचित्र भाद्र २४ गते देशभर प्रदर्शन हुनेछ ।