काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा जबरजस्ती करणीको कसूरमा उजुरी परेको छ ।

लामिछानेले १७ वर्षकी नाबालिगलाई बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा किटानी जाहेरी आएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले बताए ।

प्रहरीका अनुसार घटना ५ भदौको हो । उनले निजी कारमा पीडित बालिकालाई लिन उनको होस्टल छेउ पुगेका थिए । अपरान्ह उनलाई लिन पुगेका सन्दिपले घुम्न भन्दै नगरकोट लगेका थिए । त्यहाँ खाजा खाएर फर्किँदा राति १० बजिसकेको थियो ।

उनले होस्टल राति ८ बजे बन्द हुन्छ भनेकी थिइन् । तर लामिछानेले वेवास्ता गर्दै रातिसम्म राखेका थिए । फर्किँएर आउँदा काठमाडौंको एक होटलमा बस्न भनेर राति दुई पटक बलात्कार गरेको पीडितको भनाइ छ । प्रहरीले मंगलबार नै पीडितको स्वास्थ्य परीक्षण गराएको छ ।

लामिछाने घटनाको भोलिपल्ट टी–२० सिरिज खेल्न केन्या गएका थिए ।