हेटौंडा । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा उपमेयर कप भलिबल प्रतियोगिता भोलि बिहीबारदेखि सुरु हुने भएको छ । आयोजक प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको छ ।

हेटौंडा उपमहानगरपालिकाका १९ वटा वडामध्ये ९ वटा महिला टिम र १२ वटा पुरुष टिमको सहभागिता रहने आयोजकले जनाएको छ । हेटौंडा–४, हुप्रचौरमा असोज ९ गते सम्म हुने प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार रुपैयाँ नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।

चौथो संस्करणको प्रतियोगिता आयोजनाका लागि हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको प्रतिष्ठानका महासचिव बसन्त कुमार सिटौलाले जानकारी दिए । यस्तै प्रतिष्ठानले असोज १० गतेबाट दोस्रो संस्करणको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्दैछ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने महासचिव सिटौलाले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको संयोजक ईन्द्रप्रसाद सञ्जेल रहेका छन भने उपमेयर कप भलिबल प्रतियोगिताको संयोजकमा राजु घले रहेका छन । पत्रकार सम्मेलनमा प्रतिष्ठानका संस्थापक अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिकाका निवर्तमान मेयर हरिबहादुर महतको पनि उपस्थिति रहेको थियो ।
समृद्ध समाजबाट साभार