हेटौंडा । काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवशिय क्रिकेट प्रतियोगिता बागमती छनौट अन्तर्गत मकवानपुर फाइनलमा प्रबेश गरेको छ ।

काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बुधवार भएको खेलमा मकवानपुरले त्रिभुवन विश्वबिद्यालयलाई ७ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । टस जितेर बलिङ गरेको मकवानपुरले त्रिबिलाई ५८ रनमा समेटेको थियो ।

घातक बलिङको प्रदर्शन गरेको मकवानपुरका बलर सामु त्रिबिले घुँडा टेक्न बाध्य भएको थियो । मकवानपुरका समिर चौलागाईले सर्बाधिक ५ विकेट लिदै त्रिबिलाई दबाबमा राखेका थिए । त्यस्तै राम नरेश गिरी ३ तथा पियुष शर्माले २ विकेट लिएका थिए । त्रिविका लागि सन्देश पँगेनी १९ तथा कप्तान पृथु बास्कोटाले ११ रन बाहेक अन्य ब्याट्स्मनले दोहोरो रन बनाउन सकेन्न ।

५९ रनको झिनो लक्ष्य पछ्याएको मकवानपुरले १७ औं ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य हासिल ग¥यो । मकवानपुरका बिशाल फुयाँल २१ र तक्षक सिंखडाले १८ रन बनाएका थिए । ५ विकेट लिएका मकवानपुरका समिर चौलागाई म्यान अफ द म्याच घोषित भए । उनले ट्रफी सहित १८ हजार नगद हात पारे । उनलाई मकवानपुर का पूर्व खेलाडी उत्सब सिग्देलले ५ विकेट लिए बापत १० हजार, म्यान अफ द म्याच बापत ३ हजार र सौरभ आचार्यले ५ हजार पाएका थिए ।

मकवानपुरले बिहिबार (भोलि) काठमाडौं र ललितपुर बिच हुने खेलका बिजेता सँग शुक्रवार उपाधिका लागि खेल्ने छ ।
(बिनोद कुमार बानियाँको सहयोगमा तयार पारिएको समाचार सामाग्री ।)