हेटौंडा । हेटौंडा ४ हुप्रचौरमा सुरु भएको जिल्लास्तरीय अन्तर विद्यालय टि–२० क्रिकेट प्रतियोगितामा नवोदय शिशु सदन र जिएस निकेतनले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नवोदय शिशु सदनले कमाने एकेडेमीलाई ८ विकेट हराउँदै विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको कमाने एकेडेमीले १३ ओभर २ बलमा अल आउट हुँदैै जम्मा ३० रनको तार्गेट दिएको थियोे । नवोदय शिशु सदनले ७ ओभर २ बलमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो । नवोदयको जितको लागि नवोदय शिशु सदनका ब्याट्सम्यान प्रमिद कोइरालाले २२ रन बनाएका थिए । खेलको म्यान अफ द म्याच नवोदय शिशु सदनका बलर अजल मानन्धर घोषित भएका छन् ।

त्यस्तै दोस्रो खेलमा जिएस निकेतनले सिदार्थ माबिलाई १ सय २० रनले हराउँदै विजयी सुरुवात गरेको छ । टस जितेर पहिलो ब्याटिङमा उत्रेका जिएसले ६ विकेट गुमाउँदै २ सय ६ रनको लक्ष्य दिएको थियो । जिएसका ब्याटस्मान अशोक यादबले ६३ बलमा सतक हान्दै १ सय ७ रन बनाएर रन आउट भएका थिए । जितको लागि लक्ष्य पछ्याउँदै गरेको सिद्धार्थले १४ ओभर ३ बलमा अलआउट हुँदै जम्मा ८५ रन मात्र बनाउन सक्यो । खेलको म्यान अफ द म्याच जिएसका ब्याट्सम्यान अशोक यादव घोषित भएको बिनोद बानियाँले जानकारी दिए ।