हेटौंडा । मकवानपुर क्रिकेट संघले १९ बर्षमुनि (यु–१९) बागमती छनौट खेलको लागि १४ जना खेलाडीको नाम सार्वजनिक गर्दै आज खेलाडीलाई बिदाइ गरेको छ ।

आइतबारदेखि भएको बन्द प्रशिक्षणमा रहेको १८ जना खेलाडीबाट १४ जना खेलाडीको नाम आज शुक्रबार मकवानपुर क्रिकेट संघले सार्वजनिक गरेको हो ।

१४ सदस्यीय टिममा सक्षम बस्ताकोटी (कप्तान), गोकुल अधिकारी, आस्तिक दाहाल, सुमित कंडेल, दिपन बानियाँ, प्रमोद पौडेल, आशिश पोखरेल, सिद्धान्त पुरि, गौरव श्रेष्ठ, अह्मद राजा, सन्तोष दास, कृष्ण यादव, प्रंजल उपाध्याय र सुजन न्यौपाने चयन भएका छन् ।

यस्तै, वैकल्पिक खेलाडीहरुमा आयुष यादव, सुरज यादव, देवराज बर्तौला र अजल मानन्धर रहेका छन् । जसमा प्रशिक्षकको भुमिका राम नरेश गिरि र व्यवस्थापक सुमन सुनारले गर्ने जनाईएको छ ।

त्यस्तै खेलाडीहरुलाइ मकवानपुर क्रिकेट संघको अध्यक्ष बासु लाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकासको समितिको अध्यक्ष भेष खड्गी, बागमती प्रदेश क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्री, र मार्शल खेलाडी रोशिक श्रेष्ठले बिदाइ गरेका छन् । छनौट भएको जिल्लास्तरीय टिमले कात्तिक २७ गतेबाट काठमाडौंको मुलपानी क्रिकेट रंगशालामा बागमती प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने मकवानपुर क्रिकेट संघको कार्यवाहक सचिव बिनोद कुमार बानियाँले जानकारी दिए । छनौट प्रतियोगितामा मकवानपुर सहित काठमाण्डौ, भक्तपुर , ललितपुर, चितवन , नुवाकोट सहभागी उनले बताए ।

मकवानपुरले आफ्नो पहिलो खेल २७ गते ललितपुर संग र दोश्रो खेल २८ गते नुवाकोट संग खेल्ने छ । दुई समुहमा बिभाजित टोलीहरु मध्य समुह बिजेताहरु फाइनल प्रबेश गर्ने छ ।