हेटौंडा । पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजकले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

यही माघ २८ गतेबाट फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघले गत बर्ष झैं यस संस्करणमा पनि १२ वटा क्लवको सहभागिता रहने जानकारी दिएको हो । हेटौंडा ५ स्थित पिप्ले–क्याम्पा रंगशालामा हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेता टिमले नगद १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिनेछ ।

आयोजक संघका अध्यक्ष टीकाराम लामाका अनुसार विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।