हेटौंडा । हेटौंडा–१८ ठूलोदमार स्थित मकवानपुर बाल विद्या सदनमा ‘बागमती प्रदेश स्तरीय प्रथम वडा अध्यक्ष च्याम्पियनशिप फुलकन्ट्याक्ट क्योकुशिन कराते प्रतियोगिता’ हुने भएको छ ।

हर्नामाडी क्योकुशिन कराते संघ बालकुमारी (आईक्यू)को आयोजनामा भोलि ६ फागुनबाट उक्त प्रतियोगिता हुन लागेको हो । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै संघले प्रतियोगिता बारे जानकारी दिएको हो । संघका सदस्य एंव कार्यक्रम संयोजक सुर्दसन खतिवडाका अनुसार हेटौंडा-१८ को आर्थिक सहयोगमा हुन लागेको प्रतियोगितामा बागमती प्रदेशभरका १५० खेलाडीहरु सहभागिता जनाउनेछन् ।

उनले प्रतियोगितामा ३५ केजी, ५० केजी र ५५–६० मुनी तौल समूहका पुरुष र ४५ केजी र ५५ केजी मुनी तौल समूहका महिला सहभागी हुने बताए । खतिवडाका अनुसार प्रतियोगितामा प्रथम हुनेले नगद १० हजार, द्वितिय हुनेलाई नगद ५ हजार र तृतिय हुनेलाई नगद २ हजार ५ सयसहित शिल्ड र प्रमाण प्राप्त गर्नेछन् ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा-१८ का वडाध्यक्ष अनिलकुमार बाँनियाले करिब २२ वर्षपछि हुन लागेको प्रतियागितालाई आउँदो वर्षहरुमा पनि निरन्तरता दिन वडाले सहयोग गर्ने बताए । उनले प्रतियोगिताले बालबालिका देखि युवासम्मलाई खेलकुदमा समावेश गर्न र सही दिशामा मार्गनिर्देश गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

संघका अध्यक्ष भिम लामा लोप्चनका अनुसार प्रतियोगिताका उद्घाटन भोलि शनिबार बिहान ८ बजे बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ ।

पत्रकार सम्मेलनमा हेटौंडा १८ का वडाध्यक्ष अनिलकुमार बाँनिया, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष भेष खड्की, पूर्वअध्यक्ष सानु लामा, संघका अध्यक्ष भिम लामा लोप्चन लगाएत संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।