हेटौंडा । शहीद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा हिमालयन शेर्पा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले फ्रेण्ड्स क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको हो ।

हिमालयन शेर्पाले फाइनल प्रवेशका लागि सोमबार क्यामरुनको एभिनियर एफसीसँग खेल्नेछ । यस्तै भोलि आइतबारको खेल मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबबीच हुनेछ । शनिबार हिमालयन शेर्पाका विश्वास श्रेष्ठ म्यान अफ म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

मकवानपुरका १० वटै स्थानीय तहको सहयोगमा मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको पाँचौ संस्करणको प्रतियोगिताको उपाधि विजेताले १५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने विधागत उत्कृष्ट खेलाडीहरुले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले बुलेट बाइक प्राप्त गर्नेछ । बुलेट बाइकको प्रायोजन हेटौंडा स्कूल अफ म्यानेजमेन्टले गरेको हो । १० फागुनमा गोल्डकपको फाइनल खेल हुनेछ ।