हेटौंडा । स्थानीय उत्पादनको प्रवद्र्वन र बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको राक्सिराङ गाउँपालिकाको चैनपुर मनहरी खोला किनारमा पाक्षिक हाटबजार सञ्चालनमा आएको छ । राक्सिराङ गाउँपालिकाले स्थानीय कृषि उपजको प्रवद्र्धन, बिक्री, बितरण गर्ने उद्देश्यले पाक्षिक रुपमा हाट बजार सञ्चालनमा ल्याएको हो । हाटबजार हरेक महिनाको १ गते र १५ गते सञ्चालन हुनेछ ।

हाटबजारमा स्थानीय उत्पादनहरु गहत, मास, फापर, कोदा, आलु, पिँडालु, बेतबाँसका सामग्री, आरनमा बनाइएका फलामे औजारहरु, स्थानीय परिकार गिट्ठा, भ्याकुर, पिँडालु, तरुल, सिस्नुको झोल रहेका होटलहरु, स्थानीय जातका खसी, बोका, लोकल कुखुरा, स्थानीय स्तरमा उत्पादित मौरीको मह लगायतका दर्जनौ स्टलहरु रहेका थिए ।

पश्चिम मकवानपुरको मनहरी बजार हरेक महिनाका १ गते र १५ गते बन्द हुने हुँदा मनहरी बजारबाट जम्मा ६ किलोमिटर दूरीमा रहेको राक्सिराङका ग्राहक, उपभोक्ता र व्यापारीहरुलाई समेत आकर्षण गर्ने लक्ष्य हाटबजारले लिएको छ । हाटबजारका लागि २० वटा स्टलहरु निर्माण गरिएको हाट बजार व्यवस्थापन समिति संयोजक कोपिला गोलेले बताइन् ।

हाटबजारको उद्घाटन गर्दै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले स्थानीय उत्पादित सामग्रीहरुको प्रवद्र्वनका लागि हाटबजार उपयुक्त थलो भएको बताए । उनले हाटबजारले गाउँका आर्गानिक स्थानीय उत्पादनहरुको बजारीकरण हुने विश्वास व्यक्त गरे ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले कृषि हाटबजार मेला गत बर्षबाट सुरुवात गरिएपनि वर्र्खा, सडक बाटोको समस्याको कारण रोकिएको बताउँदै सडक सञ्जाल पक्का भैसकेपछि कृषि हाटबजार मेला बाह्रै महिना निरन्तर सञ्चालन गरिने बताए ।

कृषि हाट बजार मेलामा चेपाङ गायक रबिन कुमार चेपाङ, पुर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका कलाकारहरुको प्रस्तुति, स्थानीय कलाकारहरुको सांगीतिक प्रस्तुति, नृत्य प्रदर्शन, खैचडी भजन समूहको प्रस्तुति रहेको थियो ।