मनहरी गाउँपालिका वडा नं. ४ को कार्यालयको सहयोगमा विद्यार्थीलाई प्रदान गर्न तयार गरिएको साइकल ।

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपति माध्यमिक विद्यालयले विद्यार्थीलाई विद्यालयमा अध्ययनका लागि टिकाई राख्न साइकल प्रदान गर्ने योजना ल्याएको छ । विद्यालयले मनहरी गाउँपालिका वडा नं. ४ को कार्यालयको सहयोगमा विद्यार्थीलाई साइकल प्रदान गर्ने योजना ल्याएको हो ।

वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा विद्यालयलाई साइकल खरिद गर्न १० लाख रुपियाँ प्रदान गर्ने भएपछि विद्यालयले विद्यार्थीलाई साइकल वितरण गर्ने योजना अगाडि बढेको छ ।

वडा कार्यालयले चालु शैक्षिक सत्रबाटै साइकल वितरण गर्न बजेट विनियोजन गरेपछि विद्यालयले साइकल खरिद गरी जडानको काम अन्तिम चरणमा पु¥याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव गौतमले जानकारी दिए । उनले कक्षा छ देखि १० सम्म अध्ययनरत एक सय १५ जना विद्यार्थीलाई आवश्यकताका आधारमा साइकल प्रदान गरिने भन्दै एक घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने विद्यार्थीलाई साइकल प्रदान गर्ने गरी कार्यविधि बनेको बताए ।

वडा नंं. ३ र ४ का विद्यार्थीलाई लक्षित गरी साइकल प्रदान गर्न लागिएको हो । साइकलको जतन गर्नुपर्ने र विद्यार्थी–अभिभावकले नै मर्मत गर्नुपर्ने गरी अभिभावक विद्यार्थीसँग सम्झौता गरिने भन्दै अध्यक्ष गौतमले १० कक्षापछि साइकल बुझाउनुपर्ने छ राम्रो अवस्थामा साइकल बुझाउने विद्यार्थीलाई पुरस्कारसमेत दिइने बताए । गोरखापत्रबाट