हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले पालिकाभित्र निर्माणाधिन कार्यमा ढिलासुस्ती गरेर जनतालाई दुःख दिन छुट नदिने बताएका छन । कुनै पनि कार्य समयाबधीभित्र गर्नुपर्ने भन्दै उनले निर्माण स्थलहरुमा अनुगमनलाई तिब्रता दिएका छन् ।

अध्यक्ष घलानले पालिकामा सुशासन कायम गर्दै समृद्धी ल्याउन आफु चौबिस घण्टा खटेर पहरेदारको भुमिका निभाइरहेको बताए । उनले भने“यो पालिकामा काम गर्नको लागि कसैले एक कप चिया पनि खुवाउन पर्दैन, तर काम लिइसकेपछी समयाबधीभित्र सक्नुपर्ने र गुणस्तरियता कायम गर्नुपर्ने कुरामा भने कुनैपनि हालतमा छुट हुने छैन ।”

पुर्बी मकवानपुरको राईगाउँमा सडक निर्माण कार्यमा ढिलासुस्ती र सडकको मापदण्ड अनुरुप प्रयोग गर्नुपर्ने सामग्रीको प्रयोग नभएको सूचना पाए लगत्तै अध्यक्ष घलानको नेतृत्वमा प्राविधिक र सडकको कर्मचारी सडक निर्माण स्थलमा अनुगमन गर्न पुगेर अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न निर्माण ब्यवसायीलाई निर्देशन दिए । निर्माण कार्यमा कुनै किसिमको तलमाथि गरिएको थाहा पाएमा कानुन अनुसार अघि बढ्नुपर्ने दिन आउन सक्छ भन्दै उनले सतर्क भई मापदण्ड अनुरुप काम गर्न समेत उने पुलामी सन्स एन्ड कन्स्ट्रक्सन र भैरब कन्ट्रक्सनको निर्माण ब्यवसायीलाई सुझाब दिए ।

त्यस्तै बागमती गाउँपालिकाका कार्यकारी अधिकृत झम्कनारायण घलानले कर्मचारीहरुलाई ८ घण्टामात्र काम गर्ने छुट नभएको बताए । उनले प्राबिधिक एबम् कर्मचारीले आबश्यक्ता अनुसार काम गर्नुपर्ने हुनाले ८ घण्टामात्र गर्छु भन्न नमिल्ने बताए ।

अधिकृत घलानले पालिकामा अध्यक्ष आफैपनि श्रमदानमा खट्ने र कर्मचारीलाई पनि अतिरिक्त समयमा काम गर्न आग्रह गरेकाले कर्मचारीहरुले अध्यक्षको लगाब र भावना अनुरुप कार्य गरिहरेको बताए । कृषि प्राबिधिक र भुमि सम्बन्धी काम गर्ने कर्मचारीहरु बिहान ७ बजेदेखी नै वडाहरुमा खटिरहेको उनले जनाए । यद्यपी वडावडामा खटिएका कर्मचारीहरुको हाजिरी बिबरण वडाहरुमा नै कायम गरिएको उनले जानकारी दिए ।