हेटौँडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ५७ करोड ८८ लाख ९७ हजार १ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शनिबार भएको गाउँसभाको १४ ओैं अधिवेशनमा गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले आगामी वर्षको आम्दानी र खर्चको अनुमान गाउँसभामा पेश गरेका हुन् ।

चालुु वर्षको तुलनामा आगामी वर्षको बजेट करिब १० करोड रुपैयाँ कम हो । चालू वर्षमा ६६ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिएको गाउँपालिकाले संघीय र प्रदेशबाट प्राप्त हुने अनुदानमा कटौती भएपछि आगामी वर्षको बजेट करिब १० करोडले घटाइएको हो ।

गाउँपालिकाले आगामी आवमा पुँजीगततर्फ २४ करोड ५३ लाख ६५ हजार र चालुतर्फ ३५ करोड ४१ लाख ६० हजार रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले सामाजिक विकासतर्फ २२ करोड ६७ लाख ७८ हजार रुपैयाँ विनियोजन गरेको छ । शिक्षातर्फ १५ करोड ७२ लाख रुपैयाँ छुट्याइएको छ भने सडक, पुल तथा झोलुङ्गे पुलको लागि ४ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

भवन तथा सहरी विकासतर्फ १ करोड ३० लाख विनियोजन गरिएको छ भने खानेपानीतर्फ १ करोड ६० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । स्वास्थ्यतर्फ ४ करोड ७० लाख रुपैयाँ छुट्याएको गाउँपालिकाले कृषितर्फ १ करोड ७२ लाख रुपैयाँ विनियोजन गरेको छ । पूर्वाधार विकासतर्फ ७ करोड९० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको छ । विपद व्यवस्थापनतर्फ ४० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले उद्योग, रोजगारी पर्वर्धन तथा गरिबी निवारणका लागि २५ लाख रुपैयाँ विनियोजन गरेको छ । सञ्चार तथा सूचनातर्फ ३३ लाख रुपैयाँ छुट्याइएको छ ।

महिला बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग, दलित र पिछडिएका वर्गको उत्थान र प्रवर्धनात्मक कार्यक्रमको लागि गाउँपालिकाले कुल २८ लाख रुपैयाँ छुट्याएको छ ।

खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ५ करोड ४ लाख ९५ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । संघीय सरकारबाट जम्मा ४२ करोड ५९ लाख ७० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने प्रदेश सरकारबाट ७ करोड ७९ लाख ३२ हजार रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । स्थानीय राजस्व संकलनबाट २ करोड ४५ लाख रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा गाउँसभाको बैठक भएको हो ।