हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले आर्थिक बर्ष २०८०/८१ का लागि ६२ करोड २ लाख ५६ हजारको अनुमानित बजेट ल्याएको छ ।

आइतबार वार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीन(नेपाली)ले ६२ करोड २ लाख ५६ हजारको अनुमानित आय पेश गरेकी थिइन् । उनले आयतर्फ सरकार वित्तीय समानिकरण अनुदान ९ करोड ७४ लाख, प्रदेश सरकार वित्तीय मानिकरण अनुदान ८६ लाख गरी वित्तीय समानिकरण अनुदानमा १० करोड ६० लाख प्राप्त भएको बताइन् ।

उनले संघीय सरकार राजश्व बाँडफाँड मूल्य अभिवृद्धि कर ६ करोड २२ लाख बाँडफाँड भई प्राप्त हुने अन्तरशुल्क राजश्व ३ करोड ६, खानी तथा खनिज सम्बन्धी रोयल्टी बाँडफाँडबाट १ करोड २५ लाख, घरजग्गा रजिष्ट्रेसन दस्तुरबाट १ करोड २७ लाख बाँडफाँडबाट प्राप्त हुने सवारीसाधन कर १ करोड ७५ लाख, बाँडफाँडबाटै वन रोयल्टी ५ लाख ७२ हजार, जलस्रोत रोयल्टीबाट १ लाख, नदिजन्य पदार्थ (दहत्तर बहत्तर) राजश्व बाँडफाँडबाट हुने आय ४ करोड ५० सहित १८ करोड ५ लाख ७८ हजार अनुमान पेश गरेकी थिइन् ।

संघीय सरकार शशर्त अनुदान विभिन्न शीर्षकमा २३ करोड ९ लाख, प्रदेश सरकारबाट २ करोड २२ लाख ७८ हजार अनुमान गरिएको उपाध्यक्ष पाख्रीनले बताइन् । त्यस्तै, संघीय सरकार समपूरक अनुदान ८० लाख, प्रदेश सरकारको २ करोड ५० लाख गरी ३ करोड ३० लाख हुने अनुमान गरिएको बताईन् । संघबाट विशेष अनुदानमा २ करोड ७५ लाख र प्रदेशबाट १ करोड रकम प्राप्त हुने अनुमान रहेको उनले बताइन् ।

उपाध्यक्ष पाख्रीनले व्ययतर्फ कुल बजेटको पुजीँगततर्फ ३२ करोड १९ लाख १२ हजार ८६४ र चालु तर्फ २९ करोड ८३ लाख ४३ हजार १३६ गरी व्यव ६२ करोड २ लाख ५६ हजारको हुने अनुमान पेश गरेकी हुन् । उनले आगामी आवका लागि कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ८ करोड रकम विनियोजन गरेकी छिन् । गाउँपालिकाको विषय क्षेत्रगत व्यय अनुमानमा आर्थिक विकास क्षेत्रमा तीन करोड ४८ लाख विनियोजन गरिएको छ भने पूर्वाधार विकास क्षेत्रमा २४ करोड ९६ लाख ५६ हजार विनियोजन गरिएको छ । गाउँपालिकाले संस्थागत विकास, सेवा प्रवाह र सुशासन क्षेत्रमा ४८ लाख रकम छुट्याइएको छ भने सामाजिक विकास क्षेत्रमा २४ करोड ३५ लाख रकम विनियोजन गरिएको उपाध्यक्ष पाख्रीनले बताईन् । त्यस्तै वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ७५ लाख रकम छुट्याइएको छ ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा बसेको नवौं गाउँसभामा आर्थिक विकास समितिका संयोजक एंव वडा नम्बर ६ का वडा अध्यक्ष कृष्णप्रसाद बजगाईले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रस्तुत गरेका थिए । आर्थिक ऐन, २०८० मा सम्पति कर, भूमि कर, लगायत विभिन्न करका शीर्षक र निर्धारण गरिएको करबारे सभामा प्रस्तुत गरेका थिए । सभामा वडा नम्बर ५ का वडा अध्यक्ष एंव प्रवक्ता दिपेश दाहालले विनियोजन विधेयक २०८० प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले कृषि तथा पशुपालनलाई प्राथमिकतामा राख्दै किसान लक्षित कार्यक्रमहरु धेरै नै ल्याएको छ । नीति तथा कार्यक्रममा पशुपालक किसानहरुको पशुधन संरक्षणमा सघाउ पुग्ने उद्देश्यले पशुहरुको बीमा निशुल्क गरिने जनाइएको छ । त्यस्तै, उत्पादनमा आधारित पशुपालन क्षेत्रमा पालिका, किसान र सहकारी संस्थाबीचको सहकार्यमा कृषक भविष्य कोष स्थापना गरिने नीति कार्यक्रममा रहेको छ । गाउँपालिकाको समग्र कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुदलाई समेट्दै नीति कार्यक्रम ल्याइएको छ ।