हेटौंडा । मकवानपुरमा रहेका दश स्थानीय तह मध्ये पूर्वी मकवानपुरको बागमती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको देखिएको छ ।

जिल्लाका अन्य स्थानीय तहले नीति तथा कार्यक्रम र बजेट ल्याउँदा पनि बागमती गाउँपालिकाले नीति कार्यक्रम र बजेट ल्याउन नसकेको देखिएको हो । पालिकामा बजेट सिलिङबारे दलिय सहमति हुन नसक्दा नीति, कार्यक्रम र बजेट आउन नसकेको ८ नं. वडा अध्यक्ष इन्द्रमणी तिमल्सिनाले बताए । उनले नीति तथा कार्यक्रम र बजेटमा राजनीतिक खिचातानी भएको जानकारी दिए ।

यता बागमती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले नीति तथा कार्यक्रमकै बिषयमै छलफल भईरहेको र असार १५ गतेभित्र नीति तथा कार्यक्रम र बजेट आउने बताए । उनले यो पटकको बजेटमा पालिकाले आर्थिक विकासमा जोड दिनेगरि बजेटको तयारी गरिरहेको अनिरुद्र खबरसंग कुराकानी गर्दै बताए ।

जिल्लाको राक्सिराङ्ग, कैलाश, इन्द्रसरोवर, भीमफेदी, मकवानपुरगढी, हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरिसकेको छ । त्यस्तै बकैया र मनहरी गाउँपालिकाले भने नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि बजेट सार्वजनिक गर्न बाँकी रहेको छ ।