हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा खोलाले बगाउँदा आइतबार एक पुरुषको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार बागमती गाउँपालिका वडा नम्बर १ ठूलोगुर्दुङका ४५ वर्षीय लघुदोर्जे दोङको खोलाले बगाउँदा मृत्यु भएको हो ।

मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बागमती खोला तर्ने क्रममा अचानक खोलाले बगाई दोङको मृत्यु भएको जानकारी दिए । खोलाले बगाएर बीच भागमा ढुंगामा अड्किएको अवस्थामा उनको शव निकालिएको प्रवक्ता कार्कीले बताए ।

दोङलाई खोलाले बगाएको खबरपछि प्रहरी चौकी राईगाउँ मकवानपुरबाट पुगेको प्रहरी टोलीले उनको शव खोलबाट निकालेको थियो । पोस्टमार्टमका लागि दोङको शव हेटौँडा अस्पताल ल्याइएको प्रवक्ता कार्कीले जानकारी दिए ।