सुत्केरीलाई पोषण सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष ।
सुत्केरीलाई पोषण सामाग्री हस्तान्तरण गर्दै वडा अध्यक्ष ।

हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका ८ नं. वडा भित्र सुत्केरी हुने महिलाहरुलाई पोषण सामग्री उपलब्ध गराईएको छ ।

बागमती शान्तिपुर चारपट गाउँकी ३० बर्षीय माइलीमाया लोप्चनलाई शनिवार बिहान पोषण सामग्री उपलब्ध गराईएको हो । उनी साउन तीन गते बेतिनी स्वास्थ्य चौकी फापरवारीमा सुत्केरी भउकी थिइन् । उनलाई चार हजार बराबरको लोकल कुखुरा, तोरीको तेल, जिरा, धनिया, ज्वानु, मेथी, आयो नुन, मसला, सावुन ८ नं. वडा अध्यक्ष इन्द्रमणी तिमल्सिना (केशव) ले घरमै पुगेर हस्तान्तरण गरेका थिए । जनप्रतिनिधिले आफ्नै खर्चबाट घरमै आएर पोषण सामग्री दिएकोमा सुत्केरीका परिवार खुसी भए । यस्ता कार्यक्रमले आमा, नवजात शिशुको पोषण सुधार हुने भएकाले यो कार्यको प्रशंसा गरे ।

तिमल्सिनाले भत्तावापत प्राप्त हुने रकमले वडाभित्र सुत्केरी हुने महिलाहरुलाई साउन १ गतेदेखि सुत्केरी पोषण सामग्री उपलब्ध गराउन कार्यविधि बनाएरै काम सुरु गरेका थिए । सुत्केरी महिलाको पोषणमा सुधार ल्याउने उद्देश्यले मैले मेरो व्यक्तिगत खर्चबाट सुत्केरी पोषण सामग्री उपलब्ध गराउने निर्णय गरेको हुँ, ८ नं. वडा अध्यक्ष तिमल्सिनाले भने । उनले सुत्केरी भएको १५ दिनभित्र सम्बन्धीत परिवारको सदस्यले वडा कार्यालयमा उपस्थित भएर जानकारी गराउनुपर्ने, स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रमाणपत्र (वर्थ सर्टिफिकेट) र बच्चाको जन्मदर्ता गराएको प्रमाणपत्र पेश गर्नुपर्ने बताए । गत बर्ष ८ नं. वडामा ६० जना सुत्केरी भएको वडा अध्यक्ष तिमल्सिनाले बताए ।