हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं.६ जुरिखेतमा तरकारी लोड भएको गाडी दुर्घटना भएको छ । भिमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत मार्खुबाट तरकारी लिएर हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ च ०६९४ नम्बरको योद्धा पिकअप गाडी बुधवारराति अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी तीन जना घाइते भएका छन् । योद्धा गाडी चालक हेटौंडा–८ कमाने बस्ने २३ बर्षीय रिकेश क्षेत्री, गाडीमा सवार ईन्द्रसरोबर–१ सिमभन्ज्याङ बस्ने ६९ बर्षीय डम्बर बहादुर थापा मगर र सवारी धनी हेटौंडा–१० किसनरोड बस्ने ३३ बर्षीय मातृका प्रसाद खनाल घाइते भएका हुन् ।

प्रहरीका अनुसार घटनास्थलमा प्रहरी पुग्नु भन्दा पहिलेनै स्थानियले उक्त गाडिमा सवार ३ जना घाइतेलाई उद्धार गरी उपचारको लागि अस्पताल लगिएको थियो । तिनै जनाको अवस्था मध्यम रहेको बताईएको छ । गाडी सडकबाट करिब २० मिटर तल सडकमा खसेर दुर्घटना भएको थियो ।