हेटाैंडा । मकवानपुरकाे विकट राक्सिराङ गाउँपालिकाले उपभाेक्ता समितिमार्फत गरिने याेजना कार्यान्वयनलाई व्यवस्थित र झन्झटरहित बनाउन स्पष्ट कार्ययाेजना र कार्य ढाँचा तयार गरेकाे छ । गाउँपालिकाले तय गरेकाे कार्य ढाँचाअनुसार याेजना कार्यान्वयन गर्दा उपभाेक्ता समितिलाई हुने झन्झटकाे अन्त्य हुनुका साथै कर्मचारी र जनप्रतिनिधिलाई पनि काममा सहज हुने विश्वास गरिएकाे छ ।

राक्सिराङले गाउँपालिका तह र वडा तहमार्फत उपभाेक्ता समितिबाट गर्ने याेजनाकाे वर्गीकरण गरेकाे छ भने ठेक्कामार्फत गर्ने याेजनाकाे पनि वर्गीकरण गर्दै याेजना कार्यान्वयनकाे कार्ययाेजना तयार गरेकाे छ । स्वीकृत कार्ययोजनाअनुसार राक्सिराङले चालु आर्थिक वर्षका योजना कार्यान्वयन गराउन आगामी मंसिर मसान्तसम्ममा सबै योजनाहरुको सम्झौता गरिसक्नेछ । साथै ४५ लाखसम्मका योजना उपभोक्तामार्फत र सोभन्दा माथिका योजनाको ठेक्का प्रक्रियाबाट काम गरिनेछ । ८ लाखसम्मको योजना वडा कार्यालयबाटै सम्झौता र कार्यान्वयन गर्नेगरी कार्ययोजना बनाइएको र आगामी चैत मसान्तभित्र गाउँपालिकाको सबै योजनाहरु सम्पन्न गरिसकिने गरी कार्ययाेजना लागु गरिएकाे गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।

उपभाेक्ता समितिमार्फत काम गर्दा चाहिने आवश्यक कागजात जुटाउने झन्झटकाे पनि अन्त्य हुने भएकाे छ । उपभाेक्ता समिति गठनदेखि भुक्तानीसम्मका सबै कागजातकाे फाराम समेटिएकाे किताब नै तयार गरी गाउँपालिकाले वडा कार्यालयमार्फत वितरण सुरु गर्दैछ । उपभाेक्ता समिति गठन, निवेदन, विविध कागजातकाे नमूना फारामदेखि वडा कार्यालयबाट गरिने सिफारिसकाे नमूनासहितकाे किताब उपभाेक्ता समितिले प्राप्त गर्नेछन् । साेही किताबमा उल्लेख भएकाे नमुना फाराम भरी उपभाेक्ता समितिले गाउँपालिकासँग सम्झाैता गर्न जान सक्नेछन् । सम्झाैता भएपछि साे समितिलाई अर्काे नमूना फारामसहितकाे किताब उपलब्ध गराइनेछ । साेही किताबमा उल्लेख भएबमाेजिमकाे फाराम भर्ने र उल्लेखित कागजात पूरा गरेर गाउँपालिकामा पेश गरेपछि अन्तिम भुक्तानी हुने व्यवस्था गरिएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले बताए । साे किताबमा डाेर हाजिरीकाे फारामदेखि प्राविधिक र वडा कार्यालयले गर्ने सिफारिस फारामसमेत उल्लेख रहेकाे उनले बताए । कार्ययाेजनाअनुसार काम गर्न उपभाेक्ता समितिलाई प्रशिक्षण दिइनेसमेत वर्ताैलाले सुनाए ।

गाउँपालिकाले साेमबार गत आर्थिक वर्षमा गरेकाे कामहरुकाे समीक्षाका साथै वडाध्यक्षहरुलाई वार्षिक बजेट, नीति तथा कार्यक्रम पुस्तिका, स्थानीय राजपत्रमा प्रमाशित वार्षिक कार्यक्रम कार्यान्वयन पुस्तिका, उपभाेक्ता समितिबाट कार्यान्वयन गरिने याेजनाकाे पुस्तिका हस्तान्तरण गरी चालू आवकाे याेजना कार्यान्वयन सुरु भएकाे बताएकाे छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल र उपाध्यक्ष वनस्तम थिङले वार्षिक कार्ययाेजनालाई पूर्ण कार्यान्वयन गरि काम गर्न कर्मचारी र वडाध्यक्षहरुलाई सूचित गरे ।

राक्सिराङकाे खर्च ७३.९ प्रतिशत खर्च

राक्सिराङ गाउँपालिकाले बितेकाे आर्थिक वर्ष २०७९/०८० मा ७३ दशमलव ९ प्रतिशत बजेट खर्च गर्न सफल भएकाे छ । साेमबार भएकाे वार्षिक समीक्षा कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैलाले गत आवमा ६८ कराेड ३२ लाख ५६ हजार रुपैयाँकाे बजेट विनियाेजन भएकाेमा समग्र खर्चकाे अवस्था ७३ दशमलव ९ प्रतिशत रहेकाे बताए ।

गत वर्ष पुँजीगततर्फ ८१ दशमलव ९३ र चालुतर्फ ६८ दशमलव ८१ प्रतिशत खर्च भएकाे छ । बितेकाे वर्ष ६ कराेड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकाेमा लक्ष्यभन्दा २१ प्रतशत बढी संकलन भएकाे बताउँदै प्रशासकीय अधिकृत गर्ताैलाले चालू चालू आवमा आन्तरिक आम्दानी १० कराेड रुपैयाँ पुर्याउने बताए ।

वार्षिक समीक्षामा विषयतगत शाखाका प्रमुख तथा प्रतिनिधिले आफ्ना शाखाबाट भए गरेका कामकाे प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा याेजना शाखाका चुननारायण श्रेष्ठ, शिक्षा शाखा पासाङ तामाङ, पञ्जीकरण शाखा नवराज रिजाल, सामाजिक विकास, प्रधानमन्त्री राेजगार कार्यक्रम र न्यायिक समितिका गतिविधि गाेविन्द विश्वकर्माले प्रस्तुत गरेका थिए । लघुउद्द्म विकास शाखाका मानसिं घलान, पशुपंक्षी विकास शाखा ईन्द्रबहादुर जिरेल, कृषि विकास शाखा संगम विश्वकर्मा, स्वास्थ्य शाखा जनस्वास्थ्य अधिकृत विजय कापरी, आयुर्वेद शाखाका राम वचन साह, बहुक्षेत्रीय पाेषण कार्यक्रमतर्फ बिमला प्रजाले प्रस्तीकरण गरेका थिए ।

कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले आफूहरु गाउँकाे व्यवस्थित र दिगाे विकासकाे काममा क्रियाशील रहेकाे बताए ।वार्षिक कार्ययाेजना र कार्यविधि निर्माण गरी व्यवस्थित ढंगले बजेट कार्यान्वयन गर्न लागिएकाे उनले सुनाए । कर्मचारी र जनप्रतिनिधिहरुले दबाब र प्रभावमा परेर काम गर्न नहुने भन्दै उनले राम्राे काम गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने र राम्राे कार्य सम्पादन नगर्ने कर्मचारीकाे कार्यक्षेत्र हेरफेर गरिने बताए ।

गाउँकाे सेवा प्रवाह चुस्त दुरुस्त गर्दै प्रविधिकाे प्रयाेगमा प्राथमिकता दिइने पनि उनकाे याेजना छ । गाउँपालिकाका उपाध्यक्ष वनस्तम थिङले अप्ठ्यारा र चुनाैतीहरु पार गर्दै गाउँकाे विकासमा सबै जुट्नुपर्ने बताए । कर्मचारीहरुले आफ्नाे जिम्मेवारीअनुसारकाे काम गरी परिणाम निकाल्नुपर्ने बताउँदै समस्याहरु समाधान गर्न आफूहरु तयार रहेकाे बताए ।

कार्यक्रममा राक्सिराङ ४ का अध्यक्ष सञ्जय काेइराला,कार्यपालिका सदस्य सजिना मुक्तानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।