मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ५, सानोसुकौरामा एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाका लागि जग्गा सम्याईदै ।
मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ५, सानोसुकौरामा एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाका लागि जग्गा सम्याईदै ।

हेटौंडा । मानव बेचबिखनमा परेका र पर्न सक्ने संभावित समुदाय क्षेत्रका जोखीम उन्मुखहरुलाई तालिम दिई समाजमा पुर्न स्थापना गर्नका लागि मकवानपुरमा एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापनाको तयारी गरिएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नं. ५, सानोसुकौरामा ७४ रोपनी क्षेत्रफलमा एकीकृत कृषि तथा पशुपालन तालिम केन्द्र स्थापना गर्न लागिएको हो ।

सुकौरा एग्री कल्चर प्रालिको स्वामित्वमा रहेको जग्गामा माइती नेपालले बेचबिखनमा परेका र पर्न सक्ने समुदायलाई आवासीय सहितको तालिम दिने उद्देश्यले भवनसहितका संरचना निर्माणको तयारी गरेको माइती नेपालकी कृषि प्रमुख रविना बस्नेतले जानकारी दिइन् । “ग्रीन हाउस, हाइटेक नर्सरी, आधुनिक बाख्रा, कुखुरा पालनसहितको करिव पाँचसय जनालाई तालिम दिने तयारी सहित तालिम केन्द्रको तयारी थालेका छौं, मानवबेचबिखनमा पर्नु भएका र पर्न सक्ने संभावित सुदायलाई आवश्यकताका आधारमा आवासीय सहित करिव पाँचसय जनालाई बार्षिक तालिम दिनेगरी तालिम केन्द्र स्थापनाको तयारी गरिरहेका छौं”,–उनले भनिन् ।

तालिम केन्द्र र आवासीय भवनहरु निर्माण गर्न करिव ९ करोड भन्दा माथि खर्च हुने अनुमान छ उनले भनिने– “पहिलो चरणमा यस बर्ष दुई करोड बजेटमा कामहरु सुरु गछौं ।” कोकाकोला फाउण्डेशन अमेरिकासँगको सहकार्यमा माइती नेपालले सञ्चालन व्यवस्थापन गर्नेगरी एकीकृत तालिम केन्द्र सञ्चालनको तयारी थालिएको हो । देशभरका बेचबिखनमा परेका र पर्न सक्ने संभावित समुदायलाई माइती नेपाल मार्फत फारम भर्न लगाएर आवश्यकता, रुचि, चाहना र भौगोलिक आधारमा जीविकोपार्जन हुनेगरी तालिम दिइने उल्लेख छ । बेचबिखनमा परेर पुनः समाजमा फर्किनुहुने जो कोहीलाई सीपसहित बाच्ने आधारतय गर्न तालिम केन्द्र स्थापना गर्न लागिएको माइती नेपालकी कृषी प्रमुख बस्नेतले बताइन् ।

गोरखापत्र दैनिकका लागि अनिल पराजुलीले लेख्नुभएको समाचार हामीले साभार गरेका हौं ।