हेटौंडा । वियोण्ड बेइजिङ कमिटी नेपालको आयोजनामा मकवानपुरको राक्सिराङ गाउँपालिकामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि अन्तरक्रिया भएको छ ।

राक्सिराङ गाउँपालिकाका धार्मिक अगुवा, शिक्षक, झाँक्री, विभिन्न संघसंस्थाका प्रमुख, जनप्रतिनिधिलगायतको सहभागितामा मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । स्थानीयलाई यौन तथा प्रजनन अधिकारको विषयमा जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले जनाएको छ ।

यसअघि संस्थाले विद्यालय बाहिर रहेका २२ जना किशोर किशोरीलाई यौन तथा प्रजनन अधिकारसम्बन्धी १० दिने तालिमको आयोजना गरिसकिएको वियोण्ड बेइजिङ कमिटी नेपालकी सम्पर्क अधिकारी कुमारी वाइबाले जानकारी दिइन् । स्थानीय संस्थाको रुपमा कार्यक्रम संयोजन गरेको संस्था युसेस मकवानपुरका अध्यक्ष वुद्धशरण लामाको अध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौला, वडाध्यक्षहरुलगायतको उपस्थिति रहेको थियो । राइट हियर, राइट नाउ संस्थाको सहयोगमा गाउँपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी परियोजना सन् २०२५ सम्म सञ्चालन हुने जनाइएको छ ।

वियोण्ड बेइजिङ समिति (बिबिसी) नेपाल महिलाहरुको नेतृत्वमा २०५२ सालमा गठन गरी २०५५ सालमा दर्ता भई महिला मानवअधिकारको क्षेत्रमा क्रियाशिल राष्ट्रिय गैरसरकारी सञ्जाल संस्था हो । लैङ्गिक समानता, मूलप्रवाहीकरण, लैङ्गिक उत्तरदायी दिगो विकास लक्ष्य कार्यान्वयन र लैङ्गिक समानता, महिला, युवा, बालिका, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक तथा सीमान्तकृत वर्गहरुको सशक्तिकरणका लागि वित्तीय (आर्थिक) सवालहरुमा पैरवी गर्दै आएको छ ।