हेटौंडा । जनपक्षीय कामबाट स्थानीयको मन जितेर दोस्रो पटक पनि गाउँपालिका अध्यक्ष निर्वाचित भएका राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले दसैंको मुखमा गाउँटोलमै सामाजिक सुरक्षा भत्ता बोकेर पुगेपछि ज्येष्ठ नागरिक र गाउँबासीबाट अर्को स्याबासी बटुलेका छन् । बैंकका कर्मचारी बोकेर गाउँ टोलमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिँदा स्थानीय ज्येष्ठ नागरिकले ठूलो राहत पाएका छन् ।

विकट गाउँबाट गाउँपालिका कार्यालयमा रहेको बैंकमा भत्ता लिन आउँदा लामो समय हिँड्नुपर्ने र गाडी चल्ने ठाउँबाट पनि महङ्गो भाडा तिरेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतालाई चिर्दै गाउँपालिकाले गाउँटोलमै सामाजिक सुरक्षा भत्ता बोकेर पुगेको हो । सोमबार गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको टोली वडा नम्बर ९ को जनतालाई भत्ता बितरण गर्न पुगेको थियो ।

राक्सिराङ ९ नम्बर वडाको अठारे ह्याक्ती बस्ने ९१ बर्षिया बृद्ध गौरी सुनारलाई जेष्ठ नागरिक भत्ताको ३ महिना बराबरको रकम हस्तान्तरण गर्दै औपचारिक कार्यक्रम सुरुवात गरिएको थियो । वडा कार्यालयमा बैंकका कर्मचारीसहित पुगेका अध्यक्ष मल्लको टोलीले सोमबार करिब १ सय २० जना ज्येष्ठ नागरिक तथा अपाङ्गलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको थियो ।

सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै प्राप्त गरेपछि अधिकांश बृद्धबृद्धाहरुले आउँदो दिनहरुमा पनि यसैगरी प्राप्त गर्न गाउँपालिका अध्यक्षलाई अनुरोध गरे । वडा अध्यक्ष रामकुमार बाल्पा थिङले वर्षाका कारण बाटो बिग्रिएको र घण्टौं हिडेर गाउँपालिका कार्यालयसम्म पुगेर भत्ता लिन असहज भएकाले वडाबाटै भत्ता वितरण गरिएको बताए ।

गाउँपालिकाले राक्सिराङ ४ मा रहेको एक परिवारलाई दसैं मान्नको लागि खाद्यान्न तथा नगद सहयोग गरेको छ । खाद्यान्न प्याकेजमा चामल, तेल, दाल र नुन रहेको थियो भने अध्यक्ष मल्लले नगद सहयोगसमेत गरेका थिए । अभियानकै क्रममा स्थानीइै युवाहरुलाई खेलकुदका सामाग्री समेत हस्तान्तरण गरिएको थियो । पालिकाले यस अघि वडा नम्बर ६, ७ र ८ मा असोज २५ गते नै भत्ता बितरण गरिसकेको छ ।