हेटौंडा । पश्चिमी मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आयुर्वेद औषधालय भवन निर्माण गरिने भएको छ । गाउँपालिकाको लगानीमा गाउँपालिका क्षेत्रभित्र पाइने जडीबुटीको प्रयोग र उपचार गर्ने गरी गाउँपालिका–५ स्थित ठाडेचुरीमा आयुर्वेद औषधालय भवन निर्माण गरिने भएको हो ।

प्राचिन वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरीको जन्मजयन्तिको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आयुर्वेद औषधालय भवनको शिलान्यास गरे । उनले पालिकाभित्रका विभिन्न प्रजातिका जडीबुटीको संरक्षण र प्रयोग गर्ने गरी आयुर्वेद औषधालय भवन निर्माण गर्न लागेको भन्दै आयुर्वेदिक औषधिले शारीरिक नकारात्मक असर नपर्ने भएकाले पछिल्लो समयमा आममानिस आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको बताए ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ मा विनियोजित २० लाख रुपियाँको लागतमा पाँच कोठे भवन निर्माण हुने छ । भवन निर्माण गर्न स्थानीय ८६ वर्षीय रामबहादुर प्रजाले दुई कठ्ठा १० घुर जग्गा दान गर्नुभएको गाउँपालिकाका आयुर्वेद शाखा प्रमुख रामवचन शाहले जानकारी दिए । कार्यक्रममा जग्गादान गर्नुहुने ज्येष्ठजन प्रजालाई गाउँपालिका अध्यक्ष मल्लले सम्मान गरेका थिए । साथै भवन शिलान्यास कार्यक्रमको अवसरमा ४० जना सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी आयुर्वेदिक औषधि वितरण गरिएको थियो ।