मकवानपुरगढी गाउँपालिकाको कार्यालय ।

हेटौंडा । जमिन बाँझो हुन थालेपछि कृषकलाई बाली उत्पादनसँग जोड्ने उद्देश्यले मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले खेती गर्न कृषकलाई प्रोत्साहन गरेको छ । पालिकाले जमिन भाडामा लिएर खेती गर्न चाहने कृषकलाई भाडावापतको रकम उपलब्ध गराउने भएको हो ।

पालिकाले पहिलो पटक कृषि विकास कार्यक्रमअन्तर्गत् पालिकाभित्र र बाहिरका जोसुकैले बाली उत्पादन गर्नका लागि जमिन भाडामा लिन चाहेमा उक्त भाडा पालिकाले व्यहोर्ने भएको कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए । कृषकहरुले खेती गरे पनि कहिलेकाहीँ असिना, पानी र बालीनालीमा लाग्ने रोगका कारण उत्पादन पनि घट्ने र जग्गाको भाडासमेत तिर्न नसक्ने गुनासो आएपछि पालिकाले उक्त कार्यक्रम ल्याएको उनले बताए ।

पालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रम तथा कृषि विकास कार्यक्रमअन्तर्गत् पहिलो पटकमा भाडाबापत ५ लाख रुपैयाँ बराबर भुक्तानी गर्ने उनले बताए । अहिले पालिकाले २ सय ५० रोपनी क्षेत्रफल जमिनलाई उक्त रकम उपलब्ध गराउने छ ।

वार्षिक प्रतिरोपनी २ हजार रुपैयाँका दरले भाडाबापतको रकम उपलब्ध गराउने भएको हो । भाडामा लिएर खेती गरिरहेका इच्छुक कृषक, कृषक समूह, सहकारी, कृषि फर्म, कम्पनीहरुले पुस ११ गतेसम्म निवेदन दर्ता गर्न पालिकाले सूचना जारी गरेर आग्रह गरेको छ । गाउँपालिकाभित्रका विपन्न, सिमान्तकृत, दलित, जनजाति साथै बेरोजगारको सूचीमा परेकालाई विशेष प्राथमिकता दिइने पालिकाको सूचनामा उल्लेख छ ।