हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका चेपाङहरूले स्वास्थ्य र शिक्षामा प्राथमिकता दिन गाउँपालिकालाई आग्रह गरेका छन् ।

गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तित्वहरुबीच बुधबार मनहरीमा भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले यस्तो सवाल उठाएका हुन् । चेपाङ्ग समुदायका अगुवाहरुले विकास निर्माणका कार्यहरुमा सो समुदायलाई समेट्नु पर्ने पनि माग गरेका छन् । चेपाङ्गलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरुले अनुरोध गरे ।

कार्यक्रममा प्रमुख अतिथीको रुपमा उपस्थित बागमती प्रदेसका पुर्वराज्यमन्त्रि सन्तबहादुर चेपाङ्गले आफ्नो कार्यकालमा चेपाङ्ग जातीका लागि उल्लेखनीय कार्य गरेको दावी गरे । हालसम्म १ अर्ब ६० करोँड लगानी गरी चेपाङ्ग समुदायको स्तरोन्नतीका कार्यक्रमहरु ल्याइएको उनले दाबी गरे ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेपाङ्ग समुदाय लक्षित बजेट निर्माणका लागि सबैको सल्लाह अनुसार अघि बढ्ने बताए । सीमान्तकृत चेपाङ्ग समुदायको निशुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सीफारीस अनुसार सेवा लिन आग्रह गरे ।

कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ४ नं वडाअध्यक्ष प्रकास थापा, १ नं वडाअध्यक्ष शिव खनाल र ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल, सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकाल र ४५ जना चेपाङ्ग समुदायका अग्रज व्यक्तीहरुको उपस्थिती रहेको थियो ।

आदिवासी जनजाती समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया भएको थियो ।