हेटौंडा ।  मकवानपुरको मनहरी गाउँपालिकाले ग्रामीण अल्ट्रासाउन्ड(एक्स-रे) सेवा सुरु गरेको छ । पालिकाले गर्भवती महिला लक्षित कार्यक्रम अन्तर्गत अल्ट्रासाउन्ड मेसिन खरिद गरी सेवा सञ्चालन गरेको हो ।

गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स-रे मेशिन हस्तान्तरण गरे संगै सेवा सञ्चालन गरिएको बताए । ‘गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्य अवस्था बुझ्न भिडियो एक्सरे गर्न आवश्यक छ’ मेशिन हस्तान्तरण गर्दै उनले भने ‘वडाका स्वास्थ्य संस्थामार्फत सहजरुप सेवा दिनु पर्छ ।’

ग्रामिण भिडियो एक्सरे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य चौकीबाट निःशुल्क सेवा प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए । एक्सरे सेवाले गर्भवती आमा र बच्चाको स्वास्थ्य अवस्थाको जानकारीसंगै शिशु तथा मातृ मृत्युदर न्यूनिकरण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

यसअघि भिडियो एक्सरे सेवाका लागि मनहरीका दुर्गम गाउँका गर्भवती महिलाहरु महनरी बजारदेखि हेटौंडा आउनु पर्ने बाध्यता रहेको थियो । यस्तै उक्त सेवा लिन स्थानीय निजी अस्पतालमा महँगो शुल्क तिर्न बाध्य थिए ।

यस सेवाले विशेष गरी मनहरीका दुर्गम क्षेत्रका गर्भवती महिलाहरु बढी लाभान्वित हुने पालिकाको विश्वास छ । एक्सरेको लागि हेटौंडासम्म धाउनु पर्ने बाध्यताको अत्य भएपछि मनहरीका स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।

यसैगरी गाउँपालिकाले गर्भवती महिलाहरुलाई पुर्ण संस्थागत प्रसुती सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवाको ब्यवस्था गरेको छ । त्यस्तै पालिकाले गर्भवती महिलालाई प्रयोगशालाको पनि सुविधा उपलब्ध गराएको अध्यक्ष कालाखेतीले जानकारी  दिए।