हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले डिजिटल हाजिरी सुरु गरेको छ । गाउँपालिकाले ढड्डा हाजिरी रजिस्टर हटाएर ई–हाजिरीमा ल्याप्चे लगाउन शुरु गरेको हो ।

पालिका मातहतका सबै कर्मचारीले अब ई–हाजिरी गर्छन् । ई–हाजिरीमा कर्मचारी कतिबेला उपस्थिति भए, कति बेला बिदा भए सबै देख्न सकिने बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताए । ‘पालिका भित्र सुशासन र पारदर्शिता कायम गर्न पालिकाको कार्यालय, १२ वटै वडा कार्यालय, स्वास्थ्य संस्थामा रहेका सबै कर्मचारीको लागि ई–हाजिरीको व्यवस्था गरेका छौं,’–प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने । उनले कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस र कर्मचारीहरु कार्यालय समय भित्र कतै जान नसकुन भनेर यो प्रविधि लागू गरिएको जानकारी दिए ।

कर्मचारीले विदा लिनको लागि छुट्टै निवेदन लेखेर कार्यालय प्रमुखसँग पुग्नु पर्ने बाध्यता पनि हटेको छ । सबै कर्मचारीको लागि छुट्टाछुट्टै पासवर्ड व्यस्था गरिएको र त्यहीँबाट आफ्नो विदाको निवेदन पठाउन सकिने प्रणालीको व्यवस्था मिलाइएको पालिका सूचना अधिकारी सन्तोष पाण्डेले जानकारी दिए ।

आएको निवेदनको आधारमा बिदा स्वीकृत वा अस्वीकृत भएको सबै यही प्रविधिबाटै गर्न सकिने उनको भनाई छ । सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य सस्थाका कर्मचारी सबै कति जना उपस्थिति भए कति भएनन् । समयमा आए आएनन् सबै गाउँपालिकामै बसेर हेर्न सकिने पाण्डेले जानकारी दिए ।

कर्मचारी फिल्डमा जाँदा पालिका वा सम्बन्धित वडालाई जानकारी गराएर म्यानुअल हाजिरि गर्न सकिने व्यवस्था पनि गरिएको छ । पुरानो ढड्डा शैलीलाई फेर्दै पालिकाले आधुनिक प्रणाली अपनाएकोप्रति कर्मचारीहरु पनि सहज भएको बताउँछन् । १२ वटा वडा रहेको बकैयामा करिव डेढसय कर्मचारीहरु कार्यरत रहेका छन् ।