हेटौंडा । बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले मकवानपुर र सिन्धुली जिल्लाको सीमान्तकृत र लोपोन्मुख समुदायलाई न्यानो ओढ्ने (फाईवर सिरक) वितरण गरेको छ । मन्त्रालयको चालु आर्थिक बर्षको विपद् गैर खाद्य सामाग्री कार्यक्रम अन्र्तगत थामी, हायू, वनकरीयालाई न्यानो कपडा वितरण गरिएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ४ मुसेधापका २२ घरधुरीलाई ४४ थान फाईवरको सिरक वितरण गरिएको छ । ९३ जना लोपोन्मुख वनकरीयालाई जाडोमा न्यानो सिरक हस्तान्तरण गरिएको हो ।

वनकरीयालाई सिरक बितरण गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले सरकार जनताको अभिभावक भएकाले जनतालाई अप्ठ्यारो परेको बेला सहयोग गरेको बताए । उनले देशको सबैभन्दा धनी बिनोद चौधरी र ९३ जना मात्रै जनसङ्ख्या रहेको वनकरीया समुदाय पनि यही देशको नागरिक भएकाले सरकारले सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिए ।

‘सबैलाई संविधानले बराबरी अधिकार दिएको छ, संविधानतः सरकारले सबैलाई समान व्यवहार गर्नुपर्छ,’–मन्त्री श्रेष्ठले भने । आर्थिक रुपमा विपन्न, लोपोन्मुख, सिमान्तकृत समुदायहरुलाई सरकारले विशेष अभिभावकत्व प्रदान गर्नुपर्नेमा उहाँले जोडदिए । बागमती प्रदेशभित्र बसोबास गर्ने लोपोन्मुख, वनकरीया, हायू र अति सीमान्तकृत जातीलाई जाडोमा उहाँहरूको घरमा न्यानो भित्रियोस् भनेर तातो ओड्ने फाइबर सिरक वितरण गरिएको उनले स्पष्ट पारे ।

मनहरीमा न्यानो कपडा वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव धु्रव गैडा, मनहरी गाउँपालिका वडा नं. ४ का अध्यक्ष प्रकाश थापा, सन्तमाया वनकरीया, स्थानीय शिवकुमार काशी लयागतकाको सहभागिता रहेको थियो ।

प्रदेश सरकारले यसअघि सिन्धुलीको घ्याङलेख–२ बस्तीपुरमा ९३ घरधुरी थामी समुदायलाई १८६ थान, सिन्धुलीको कमलामाई–१ कोप्चेको हायू जातीका १२० घरधुरीलाई २४० थान फाईवरको सिरक वितरण गरेको थियो । त्यस्तै सिन्धुली मरिण–७, थामीगाउँका ५१ घरधुरीका १०२ जनालाई प्रदेश मन्त्री, सचिव, वडाध्यक्ष लगायतकाले संयुक्त रुपमा न्यानो सिरक हस्तान्तरण गरेका थिए ।