हेटौंडा । कैलाश–९ नामटारमा आज स्यार्से कालिका मेला हुनेभएको छ । आज साँझबाट सुरुहुने मेला भोली समापन हुने वडाध्यक्ष भुवनसिंह घलानले बताए ।

मेलाको अवसरमा ऐतिहासिक कालिका मन्दिर निर्माणको सहयोगार्थ बृहत सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष बालकुमार मल्लको विशेष आतिथ्यतामा साँस्कृतिक कार्यक्रम संचालन हुनेछ । कार्यक्रममा गायकहरु राज बिरही सापकोटा, राजकुमार खनाल र रामेश्वर भण्डारी तथा गायिकाहरु शारदा रसाइली, सुशिला लामा र हिरा सुनारले सांगितिक प्रस्तुती दिनुहुनेछ । मेलाको संयोजकमा वडाध्यक्ष घलान र सहसंयोजक नवराज रुम्वा रहनेछ ।

नामटारमा रहेको स्यार्से कालिका मन्दिरमा पृथ्वीनारायण शाह पुजा गर्न आउने गरेको बुढापाकाहरुबाट सुन्दै आएको स्थानीयले बताएका छन् । २०५० सालको बाढीका कारण कालिका मुर्ति पुरिएको थियो । सोहि स्थानमा गतबर्षदेखि निर्माण सुरु गरिएको मन्दिरको भर्खरै निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष घलानले बताए । मन्दिरको भवन निर्माण सम्पन्न भएपनि बुट्टा बनाउन, सिंगार्ने कार्यहरु लगायत संरक्षणको काम गर्न बाँकि रहेको उनले बताए । मन्दिर संरक्षण योजना अन्तर्गत खोला नियन्त्रण, चौर सम्याउने, पर्यटकीय तीर्थस्थलको रुपमा विकास गर्न अझै करिब १० करोड रुपैंया खर्चको अनुमान गरिएको उनको भनाई छ ।

मन्दिर निर्माणको लागि गाउँपालिकाले १० लाख, प्रदेश सरकारले १५ लाख र मन्दिर संरक्षणका लागि प्रदेश सरकारले १० लाख रुपैंया बजेट उपलब्ध गराएको थियो । मन्दिर निर्माण र संरक्षणका लागि हालसम्म ४ लाख रुपैंया सहयोग प्राप्त भएको वडाध्यक्ष घलानले जानकारी दिए ।

यस मन्दिरमा गरिएको भाकल पुरा हुने विश्वास रहिआएको छ । भाकल पुरा भएपछि यहाँ पाठीको बली दिन भक्तजनहरु आउने गरेको उनले जानकारी दिए । यस मन्दिरमा चण्डीपुर्णिमा र धान्यपुर्णिमामा विशेष पुजाआजा हुँदैआएको छ ।