हेटौंडा । मकवानपुरको राक्सिराङमा स्थानीय वन ऐन र सामुदायिक वनको अधिकारबारे छलफल भएको छ । गाउँपालिकाले निर्माण गरेको स्थानीय वन ऐन र सामुदायिक वन अधिकार, पहिचान तथा महत्वबारे छलफल गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरले चैनपुरमा एक कार्यक्रमको आयोजना गरि स्थानीय वन ऐनले समेटेको र छुटाएको विभिन्न बिषयबारे चर्चा गरेको हो ।

स्थानीय वन ऐनमा भएको ब्यवस्था र सामुदायिक वनहरुको आवश्यकताबारे महासंघ मकवानपुरका कोषाध्यक्ष बलराम अधिकारीले सहजीकरण गरे । सिद्धार्थ हरियाली सामुदायिक वनका अध्यक्ष ज्ञानेन्द्र तामाङ, भर्याङकाली सामुदायिक वनका अध्यक्ष केशव भारती लगायतले सामुदायिक वनको समस्या, चुनौती र पालिकाले खेल्नुपर्ने भुमिकाबारे धारणा राखेका थिए ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले स्थानीय वन ऐन आवश्यकताअनुसार संसोधन गरिने बताए । राक्सिराङमा ६५ प्रतिशत वन क्षेत्र रहेको बताउँदै वनको संरक्षण, ब्यवस्थापन र सदुपयोग गर्नुपर्नेमा जोड दिए । बिकास निर्माणको क्रममा हुने क्षति न्युनिकरण गरिने र बृक्षारोपणलाई अभियानका रुपमा सञ्चालन गरिने उनले बताए ।

वनसँग सम्बन्धित पर्यापर्यटनबाट समुदायको आर्थिक स्तर सुधार हुन सक्ने बताउँदै सामुदायिक वनले पर्यापर्यटनको गतिविधिलाई तिव्र बनाउनुपर्ने उहाँको धारणा छ । प्राकृतिक उत्पादनलाई ब्यवसायिकरण गर्न सके जनतासँगै गाउँपालिकाको पनि आम्दानी बृद्धि हुने उनले बताए ।

कार्यक्रममा वडाअध्यक्ष बाबीराम मोक्तान, कार्यपालिका सदस्य सजिता मुक्तान, टिएफ परियोजनाका सहजकर्ता सुसन बिश्वकर्मा लगायतले बोलेका थिए । सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।