हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा लगाइएको सूर्यमुखी खेतीमा हावाले क्षति पुर्याएको छ । मकवानपुरगढी ३ नं. वडाको धमिले फाँटमा परीक्षणका लागि लगाइएको सूर्यमुखी हावाले सोत्तर बनाएको हो । ढकमक्क फुलेर मनमोहक बनेको सूर्यमुखी सामान्य हावाले सोत्तर बनाएपछि किसान चिन्तामा परेका छन् ।

बाबियोडाँडा निवासी कृषक गोकर्ण पराजुलीले ४ कठ्ठा क्षेत्रफलमा लगाउनुभएको सूर्यमुखी खेती हावाले क्षति गरेपछि उनी चिन्तामा परेका हुन् । बिरुवाको तुलनामा फुल ठुलो भएकाले सामान्य हावाले पनि आधाबढी फुल ढालेपछि उनी चिन्तामा परेका हुन् । सामान्य हावाले आधाबढी खेतीमा असर गर्यो, ढकमक्क फुलेको सूर्यमुखी सोत्तर भयो, उनले खल्लो मान्दै भने । “सूर्यमुखी फुल फुलेपछि यहाँ हेर्न आउने, भिडियो बनाउन र फोटो खिच्न आउनेको लर्को लागेको थियो, फुल हेर्दा आफैंलाई पनि आनन्द हुन्थ्यो, सोत्तर हुँदा मेहनत खेर भएको भान भयो,”–कृषक पराजुलीले भने ।

उनले प्रति कठ्ठा एकसय केजीको दरले सुर्यमुखी उत्पादन हुने गर्नेगरी खेति गरेपनि हावाले सोत्तर हुँदा सपना अधुरै भएको सुनाए । सूर्यमुखी फुलको खेती परीक्षणको रुपमा गरिएकाले सफल भए कृषकलाई खेती गर्न प्रेरित गर्ने पालिकाले लक्ष्य राखेको थियो । धमिले फाँट गढीका मनोज देवकोटा, बद्री देवकोटा लगायतकाले पनि सूर्यमुखी खेती गर्न आफ्नो जग्गा भाडामा दिएका छन् ।

सुर्यमुखीको बिउबाट उत्पादन गरिने तेलमा धेरै भिटामिन इ पाइन्छ । यसमा प्रशस्त मोनो अनसैचुरेटेड फ्याट र पोली अनसैचुरेटेड फ्याट पाइन्छ । यसमा धेरै कम सैचुरेटेड फ्याट हुन्छ । अहिले यो तेलको प्रयोग बढ्दै गएको छ, किनभने यो शरीरको लागि फाईदाजनक हुन्छ भन्ने धारण छ । गोरखापत्रबाट