हेटौँडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिकामा प्रशासकीय भवन निर्माण हुने भएको छ । भवन निर्माणका लागि आवश्यक बजेट स्थानीय पूर्वाधार विभागमार्फत सुनिश्चित गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष सर्केश घलानको नेतृत्वमा गरिएको पहल, निरन्तर समन्वय तथा सहजीकरणपछि भवन निर्माणका लागि आवश्यक स्रोत सुनिश्चित भएको हो । नेपाल सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा बागमती–४, झुरझुरेमा करिब १० करोड रूपैयाँको अनुमानित लागतमा प्रशासकीय भवन निर्माण गरिने जानकारी दिइएको छ ।
सेवाप्रवाहको आधारस्तम्भका रूपमा रहेको प्रशासकीय भवन निर्माण भएपछि गाउँपालिकाको सेवा सुविधा, पहुँच, गुणस्तर तथा संस्थागत क्षमता अझ मजबुत हुने अपेक्षा गरिएको छ । विनियोजित बजेटको लक्ष्यअनुसार निर्धारित समयमा टेण्डर प्रक्रिया सम्पन्न गरी गुणस्तरीय पूर्वाधार निर्माणलाई अघि बढाइने प्रतिबद्धता गाउँपालिका अध्यक्ष घलान र प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले व्यक्त गरेका छन ।
मकवानपुर जिल्लाका १० स्थानीय तहहरूमध्ये बागमती गाउँपालिका सिन्धुली र मकवानपुर जिल्लाको सीमा नदी बागमतीको पश्चिम किनारामा अवस्थित छ । नौ वडामा विभाजित बागमती गाउँपालिकाको पूर्वमा सिन्धुली जिल्ला, उत्तरमा ललितपुर र काभ्रेपलान्चोक, दक्षिणमा मधेश प्रदेश अन्तर्गत रौतहट, र पश्चिममा मकवानपुरकै बकैया गाउँपालिका रहेका छन् ।
वि.सं. २०६८ को राष्ट्रिय जनगणनाअनुसार गाउँपालिकाको कुल जनसंख्या ३० हजार ४२५ र घरधुरी संख्या ६ हजार ४६० रहेको छ । यहाँका अधिकांश परिवारहरूको मुख्य जीविकोपार्जन स्रोत कृषि तथा पशुपालन रहेको छ । उद्योग–व्यवसायका ठूला संरचना नहुँदा कृषि बाहेकका समयहरूमा धेरैजसो युवाहरू हेटौँडा तथा काठमाडौंतर्फ रोजगारका लागि जाने गरेको स्थानीय तहले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्