हेटाैँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षका लागि रैथाने कृषि उपजको नयाँ मूल्य निर्धारण गरेको हो । पालिकाले कोदोको न्यूनतम समर्थन मूल्य प्रतिकेजी ६० रुपैयाँ तोकेकाे छ । पालिकाले तिते फापर प्रतिकिलो ९० रुपैयाँ र मिठे फापरको १ सय ५ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
जुनेलोको समर्थन मूल्य प्रतिकेजी ८४ रुपैयाँ, सेतो सिमी प्रतिकिलो १ सय २० र कालो सिमी १ सय ३० रुपैयाँ निर्धारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गोपाल लम्सालले बताए । पालिकाले विगत वर्षमा जस्तै कृषक, कृषक समूह र सहकारी संस्था मार्फत रैथाने बाली खरिदबिक्री गरी किसानलाई अनुदान बापतको रकम प्रदान गरिने जनाएको छ ।
मकवानपुरगढीका कृषकले उत्पादन गरेको कोदो र फापर खरिद गरेर बजार व्यवस्थापन गर्ने सहकारीलाई प्रतिकेजी ४ रुपैयाँ र सहकारीमा कोदो र फापर बिक्री गर्ने कृषकलाई प्रतिकेजी ६ रुपैयाँ अनुदान दिने गरेको गाउँपालिका अध्यक्ष दोर्जे लामाले बताए । पालिकाभर ६ सय हेक्टरमा रैथानी बालीको खेती हुने गरेको उनले बताए ।
रैथाने बालीको उत्पादन बृद्धिका लागि उक्त गाउपालिकाले विगत ५ वर्षदेखि कोदो र फापरमा अनुदान दिदै आएको छ ।
गाउँपालिकाले ०७७/०७८ देखि कृषि विकास कार्यक्रमअन्तर्गत रैथाने बाली खरिद–बित्री अनुदान कार्यक्रम सहकारीमार्फत कार्यान्वयनमा ल्याएको थियो । पालिकामा गतवर्ष करिब १८० क्विन्टल रैथाने बाली उत्पादन भएको थियो । यस वर्ष उत्पादन वृद्धि हुने अपेक्षा पालिकाको छ ।
पालिकाको वडा १, २, ४, ७ र ८ कोदो र वडा ६ र ८ फापर पकेट क्षेत्रका रुपमा रहेको छ । पालिकाको रैथाने बाली प्रवर्द्धन कार्यक्रमबाट करिब ५ सय घरधुरी लाभान्वित हुने गरेको गाउँपालिकाले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिकाको सामुदायिक विद्यालयहरुले पनि दिवा खाजामा रैथाने बालीका परिकार बनाएर खुवाउने गरेको छन् ।
इकान्तिपुरबाट सभार












प्रतिक्रिया दिनुहोस्