हेटौँडा । ९ वर्षको निरन्तर पहलपछि पूर्वी मकवानपुरको बागमती गाउँपालिका–३, गडन कुटिभकारीमा नेपाल टेलिकमको टावर स्थापना गरिएको छ । वर्षौँदेखि मोबाइल नेटवर्क नपाएर समस्या झेल्दै आएका स्थानीयवासीको प्रयास, स्थानीय सरकारको समन्वय र नेपाल टेलिकम मकवानपुरको सहकार्यमा टावर स्थापना गरिएको हो ।
वडा नं. ३ का वडाध्यक्ष कमानसिंह पाख्रिनका अनुसार स्थानीय सरकारबाट प्रदान हुने सेवा, अनलाइन घटना दर्ता प्रणालीजस्ता कार्यहरू नेटवर्क अभावका कारण प्रभावित हुँदै आएको थियो । “टावर प्राप्त गर्न ९ वर्ष लाग्यो, अब वडाभरि नै खुसी छाएको छ,” उनले भने । अब वडाबाट घटना दर्ता लगायतका सेवा अनलाइनमार्फत नै गर्न सक्ने भएका छौँ ।
टावर नहुँदा फोन गर्न अग्लो डाँडा चढ्नुपर्ने बाध्यता रहेको स्थानीय कृष्णबहादुर माझीले टावर स्थापना भएपछि आफूहरूलाई निकै सहज भएको बताए । “अब फोन गर्न डाँडा खोज्नु पर्दैन, आफन्तसँग घरमै बसेर कुरा गर्न पाइन्छ,” उनले भने ।
यस्तै, स्थानीय शिक्षक एकबहादुर दोङले विदेशमा रहेका आफन्तसँग अब घरमै बसेर भिडियो कल गर्न पाउने भएकोमा खुसी भए ।
३ नं. वडा क्षेत्रमा सडक र विद्युत् सुविधा पुगे पनि सञ्चार सेवामा भने लामो समयदेखि समस्या रहँदै आएको थियो । सञ्चार सेवा अभावका कारण विपद् व्यवस्थापन, आपतकालीन सेवा तथा सरकारी कामकाजमा समेत स्थानीयले सास्ती भोग्दै आएकोमा अब समस्या समाधान भएको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले बताए ।
नेपाल टेलिकम मकवानपुरका प्रमुख रवि मानन्धरले भौगोलिक विकटताका कारण लामो समयसम्म टावर स्थापना गर्न नसकिएको स्वीकारे । तिनतल्ले, गडन कुटिभकारी, माझीटोल, घट्ट दमार, पाङ दमार, पिपलटार, सल्लेनी, जरायोटार र नौखण्डेलगायत क्षेत्रमा टावर नहुँदा वर्षौँदेखि समस्या स्थानीयले समस्या भोग्दै आएका थिए । नेपाल टेलिकम टावरमार्फत अब उक्त क्षेत्रमा ४ जी सेवा उपलब्ध भएको छ ।
टावर उद्घाटन कार्यक्रममा बागमती गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, वडा सदस्यहरू रतन बहादुर बज्यू सुनिल, तुल बहादुर मोक्तान, वाइसिएल नेपाल मकवानपुरका अध्यक्ष मुक्ति लामा, नेपाल टेलिकम मकवानपुरका प्रशासन र प्रबिधिक शाखाका प्रमुखहरु, पूर्व वडा अध्यक्ष बल बहादुर पाख्रिन, ज्ञान मन्दिर आधारभूत विद्यालयका प्रधानाध्यापक मगर सिं पाख्रिन लगायत स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया दिनुहोस्