हेटौंडा । पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको अध्यक्ष पदमा ५ बर्षको लागि मनहरीका सीताराम अर्याल चयन भएका छन् ।

बुधबार भएको अधिवेशनले अध्यक्षमा अर्याललाई सर्वसम्मत चयन गरेको हो । मकवानपुरसहित बारा र पर्सामा रहेको उपभोक्ता समितिका प्रतिनिधि पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिको नेतृत्वका लागि दावेदार रहने गरेका छन् ।

जसमा मकवानपुरमा ७, पर्सामा ४ र बारामा २ वटा उपभोक्ता समिति रहेको छ । अध्यक्षमा चयन भएका अर्यालले निकुञ्ज र जनताको बीचमा सुमधुर सम्बन्ध स्थापित गर्दै जल, जमिन र जंगलको संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाए ।

स्थानीयले राष्ट्रिय निकुञ्जको ज्यादती, जनतालाई दुःख दिने अवस्थाको अन्त्य गर्न आग्रह गर्दै अर्याललाई सर्वसम्मतरुपमा अध्यक्षमा चयन गरेका हुन् । पर्सा राष्ट्रिय निकुञ्जका जंगली जनावर र सेनाका कारण त्यहाँका स्थानीयले लामो समयदेखि दुःख पाइरहेका छन् ।