हेटौंडा/मकवानपुरमा डिभाइन युथ क्लवले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । बकैया गाउँपालिका वडा नम्बर ६ मोरङ्गधापको सगरमाथा प्राविमा पढ्ने विद्यार्थीहरुलाई न्यानो कपडा विरतण गरेको हो ।

विद्यालयमा पढ्ने ८७ जना विद्यार्थीहरुलाई बकैया गाउँपालिका बडा नम्बर ६ का वडा अध्यक्ष फुलबहादुर भोम्जन, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर पाख्रिन, बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रबिन्द्र पाख्रिन तथा प्रध्यानाध्यापक बिष्णुकुमारी स्याङतान लगायतकाले सुइटर र टोपी वितरण गरेका थिए । कपडा वितरणपछि बोल्दै अध्यक्ष भोम्जनले स–साना विद्यार्थीहरुको लागि चिसो बढी रहेको बेला यसरी सहयोग गरेकोमा धन्यवाद समेत दिए ।

बिद्यालयमा माखलो ज्यामिरे, बडार खोला, मोरङ्गधाप लगायतका गाउँहरुबाट बिद्यार्थीहरु पढ्न आउने गरेका छन् । तामाङ समुदायको बाहुल्यता रहेको यस स्थानमा अशिक्षा र गरिबिका कारण धेरै बिद्यार्थीहरुले बिचैमा पढाई छाड्ने, बिद्यालय नजाने समस्या रहेको बिद्यालयकी प्रध्यानाध्यापक बिष्णुकुमारी स्याङतानले बताइन् । सानै उमेरमा पढाई छाडेर बिद्यार्थीहरु आर्थिक उपार्जनका लागि काठमाडौंमा गलौचा फ्याक्ट्रिमा काम गर्न समेत जाने गरेको उनको भनाइ छ । करिव डेढ घण्टा हिडेर बिद्यार्थीहरु बिद्यालय पुग्ने गरेका छन् । आर्थिक रुपले बिपन्न रहेका बिद्यार्थीहरु जाडोमा न्यानो सुइटर, टोपी पाएपछि खुसी भएका थिए ।

डिभाइन युथ क्लवमा रहेका पदाधिकारीहरुले आफूले खाजा खाने रकमबाट बचाएर समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको कार्यक्रम संयोजक सागर पन्थीले बताए । डिभाइन युथ क्लव हेटौंडाले यस अघि राक्सिराङ गाउँपालिकामा चेपाङ समुदायलाई ब्ल्याङकेट बितरण गरेको थियो ।